राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन
काठमाडौं, ११ भदौ । उत्पादनमूलक उद्योगलाई सरलीकरण गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ। राष्ट्र बैंकले उत्पादनमूलक उद्योगको हकमा कर्जाको आकारअनुसार सीमा निर्धारण गरेको छ। अरु उद्योगहरुले १ करोडसम्म चालू पुँजीकर्जा पाउँदा उत्पादनमूलक उद्योगले भने ३ करोड रुपैयाँसम्म पाउने छन्। उत्पादनमूलक उद्योगलाई कुल ३ करोड रुपैयाँसम्म चालूपुँजी कर्जाको सीमा निर्धारण गरिएको छ। यसअघि समग्र बैंकिङ प्रणालीबाट कुल १ करोड रुपैयाँसम्म चालुपुँजी कर्जा उपयोग गर्न मिल्ने भएपनि त्यसलाई हटाइएको छ। कुल १ करोड रुपैयाँसम्म चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागु हुने छैन। राष्ट्र बैंकले अब उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोड रुपैयाँसम्म यो सुविधा दिएको हो।
यस्तै, राष्ट्र बैंकले २ करोड रुपैयाँसम्म (उत्पादनमूलक उद्योगकको हकमा ४ करोड रुपैयाँसम्म) चालू पुँजी कर्जाको सीमा निर्धारण गरेको छ। अब उत्पादनमूलक उद्योगलाई ४ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार र बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरण हुन्छ। तर, इजाजतपत्र संस्थाले उद्यम व्यवसायको विभिन्न पक्ष विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारण उल्लेख गरी अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि यो ४० प्रतिशत मात्रै थियो।