अमेरिकी राजदूतसँग उद्योगमन्त्रीको शिष्टाचार भेट

काठमाडाैं, १२ भदाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका थिए।
भेटमा मन्त्री भण्डारीले संयुक्त राज्य अमेरिका नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य भए तापनि नेपाल व्यापार प्राथमिकता कार्यक्रम (Nepal Trade Preference Program–NTPP) मार्फत उपलब्ध शून्य भन्सार सुविधाले अपेक्षित निर्यात वृद्धि नगरेको जानकारी गराए। उनले अमेरिकी नयाँ भन्सार महसुल नीतिले नेपालका घरेलु, साना तथा मझौला उद्योग प्रभावित हुने उल्लेख गर्दै आगामी सन् २०२६ मा हुने नेपालको स्तरोन्नति र उत्पादन क्षमता, व्यापार लागतलाई मध्यनजर गर्दै NTPP मा पोसाक, जुत्ता, पस्मिना, फेल्ट लगायत थप ३१ वस्तु समावेश गरी विस्तार गर्न अनुरोध गरे।
राजदूत थोम्पसनले भने व्यापार तथा लगानी प्रवर्द्धन सम्बन्धी नेपालका चासोलाई वासिङ्टन भ्रमणको क्रममा सम्बन्धित निकायसँग छलफल गरिएको जानकारी दिए।
मन्त्री भण्डारीले नेपाल–संयुक्त राज्य अमेरिका टिफा काउन्सिलका अघिका बैठकका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै, NTPP को निरन्तरता अमेरिकी संसद्ले निर्णय गर्ने भएकाले नेपालले कूटनीतिक पहल बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले पछिल्ला वर्षमा नेपालको लगानी वातावरण सुधार्ने प्रयास र अमेरिकी लगानीको सम्भावित विस्तारबारे पनि चर्चा गरे।
उद्योग मन्त्रालय र अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क कार्यालय (USPTO) बिच सन् २०२४ मा भएको समझदारी पत्रको कार्यान्वयनबाट बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य प्रवर्द्धन हुने अपेक्षा राख्दै, नयाँ बौद्धिक सम्पत्ति कानुन तर्जुमाको जानकारी मन्त्री भण्डारीले दिए ।
राजदूत थोम्पसनले नेपालमा सुधारिएको लगानी वातावरणमा अमेरिकी लगानीकर्ताको उत्साह रहने र बौद्धिक सम्पत्तिमा सहयोगका लागि अमेरिका तयार रहेको बताए। भेटघाटमा उठेका विषयहरू वासिङ्टनसम्म पुर्याउने उनको प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
दुवै पक्षले व्यापार तथा लगानी प्रवर्द्धन सम्बन्धी निरन्तर छलफल र सम्पर्क कायम राख्ने साझा धारणा व्यक्त गरेका थिए।