Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२.५ ट्रिलियन डलर पुग्यो विश्वव्यापी व्यापार वित्त अन्तर

२.५ ट्रिलियन डलर पुग्यो विश्वव्यापी व्यापार वित्त अन्तर

काठमाडौं, २८ भदौ । सन् २०२२ मा विश्वव्यापी व्यापार वित्त अन्तर २.५ ट्रिलियन डलर पुगेको छ । एशियाली विकास बैंक एडीबीले हालै सार्वजनिक गरेको ‘२०२३ फाइनान्स ग्याप्स, ग्रोथ एन्ड जब्स सर्भे’ले यस्तो देखाएको हो । एडीबीका अनुसार दुई वर्षअघि यो १.७ ट्रिलियन डलर थियो । बढ्दो ब्याजदर, मुद्रास्फीति र भूराजनीतिक अस्थिरताले बैंकहरूको व्यापार वित्त पोषण गर्ने क्षमता घटाएकोले विश्वव्यापी व्यापार वित्त अन्तर गहिरिएको एडीबीले बताएको छ । एक हजार अर्ब बराबर एक ट्रिलियन हुन्छ ।

व्यापार वित्त अन्तर अर्थात् ट्रेड फाइनान्स ग्याप भनेको आयात र निर्यातलाई समर्थन गर्न वित्त पोषणका लागि अनुरोध र स्वीकृतिबीचको भिन्नता हो ।

कोरोना महामारीपछि आर्थिक क्षेत्रमा देखिएको पुनरुत्थानसँगै विश्वव्यापी सामान निर्यात सन् २०२१ र २०२२ मा क्रमशः २६.६ प्रतिशत र १५.५ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । अर्थतन्त्रको तीव्र पुनरुत्थानपछि ट्रेड फाइनान्सको माग बढेको, तर बढेको आर्थिक जोखिमले वित्तलाई पहिलेको तुलनामा सुरक्षित गर्न गाह्रो बनाएको सर्वेक्षणले देखाएको छ ।

उक्त सर्वेक्षणलाई व्यापार वित्त स्वास्थ्यको विश्वको अग्रणी ब्यारोमिटर मानिन्छ । यसमा करिब ५० देशका १३७ बैंक र १८५ कम्पनीको डेटा समावेश गरिएको एडीबीले बताएको छ । सर्वेक्षणमा सहभागीहरूले बढ्दो ब्याज दर र वित्तीय बजार अनिश्चितताका कारण २०२२ मा आर्थिक मन्दी र भूराजनीतिक अस्थिरताका कारण निरन्तर बाधाहरूको सामना गर्नुपरेको बताएका थिए ।

सर्वेक्षणमा सहभागी बैंकहरूमध्ये लगभग ६० प्रतिशतले युक्रेनमा रूसी आक्रमणपछि बढ्दो भूराजनीतिक अनिश्चितता र वस्तुको मूल्य बढेकाले उनीहरूको व्यापार वित्त पोर्टफोलियो प्रभावित भएको उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x