पर्यटन व्यवसाय कोरोना अघिकै अवस्थामा तर १० लाखको लक्ष्य भने पूरा नहुने
काठमाडौं, ११ असोज । सन् २०२३ को ८ महिनामा ६ लाख १ हजार ३६० पर्यटक नेपाल भित्रिएका छन् । यो बर्ष सरकारले १० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ । तर त्यो लक्ष्य यो बर्ष पूरा नहुने निश्चित जस्तै भएको छ ।
सेप्टेम्बर–नोभेम्वर मुख्य सिजन मानिन्छ । यो सिजनमा २ देखि २ लाख ५० हजारसम्म पर्यटन आउने पर्यटन ब्यवसायीको अनुमान छ । समग्रमा यो बर्ष ८ देखि ८ लाख ५० हजारसम्म पर्यटक आउन सक्छन पर्यटन ब्यवसायी राजेन्द्र सापकोटाले बताए ।
विश्वव्यापी कोरोना महामारी अघि सन् २०१९ को ८ महिनामा पनि ६ लाख १५ हजार ६६० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ भरिमा भने हालसम्मकै उच्च ११ लाख ९७ हजार पर्यटकले नेपाल घुम्न आएका थिए । जबकी सन् २०२१ मा १ लाख ५० हजार र २०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।
कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान ६ प्रतिशत छ भने १० लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तर यो क्षेत्रको विकासको दीर्घकालीन नीति बनाउन नसक्दा पर्यटन वृद्धिको लक्ष्य केबल कागजमा मात्र सिमित बन्ने गरेको टुरिष्ट गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपालले बताए ।