Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हराउदै चर्खे पिङ, संरक्षणमा छैन चासो

हराउदै चर्खे पिङ, संरक्षणमा छैन चासो

गलकोट (बागलुङ), २९ असोज : बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो ।

यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताए ।

न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ ।  गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत रु २० हजारमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने रु पाँच हजारमै तयार गर्न सकिने उहाँको भनाइ छ । यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दसँैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो ।

सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दसँैं र तिहारमा हालिएको चर्खेपिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो)को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दसँै सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो । झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ ।

गाउँका युवाहरु जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो । चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले लोपहुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ ।

केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उहाँको भनाइ छ । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैँले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x