गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा, ११औं अन्तर्राष्ट्रिय महाधिवेशन मंगलवारदेखि
काठमाडौं, २९ असोज । नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा गरेर नयाँ वर्षमा प्रवेश गरेको छ । विश्वभर रहेका नेपालीहरुलाई एकैसुत्रमा बाँध्ने उद्देश्यले स्थापना भएको यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको सच्चा साझेदारको रुपमा आफूलाई उभ्याउन सक्षम भएको संघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ ।
यसपटक नेपाल सरकार, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय नेपाली विश्व सम्मेलन एवं ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन १७ अक्टोबर (३० असोज) बिहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलबात हुने छ । यस्तै २० तारिख (३ कार्तिक)मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मेलनको समापन हुनेछ ।
त्यसबीचमा १७ र १८ तारिखमा विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष सत्रको आयोजना गरिएको छ । यसैगरी १९ अक्टोबर २०२३ ९तदनुसार २ कार्तिक २०८०० मा संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ । संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै २० तारिख साँझ ५ बजे सम्मेलनको समापन हुनेछ ।
विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ अग्रजहरुको अथक प्रयास र समर्पणले स्वदेश तथा विदेशमा बस्ने नेपालीका आशा र भरोसाको केन्द्र बनेको बताइएको छ । स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा पंक्तिबद्ध गर्न संघ सफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु, विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको संघको ठहर छ ।
‘गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २० औं वर्षगाँठ मनाइरहँदा विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानूनी बाटो खोलेको छ । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै माग गर्दै आएको श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नुपर्ने माग सरकारले सम्बोधन गरेको छ । संघकै पहलमा सरकारले वैदेशिक रोजगारीमा गएका र विदेशमा स्वरोजगारमा रहेकालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न थालेको छ । विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार सुनिश्चित गरेको छ भने निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मताधिकारको अधिकार कार्यान्वयनको लागि ऐन निर्माण लगायतका सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको छ । धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रिया सुरु भएको छ । छरिएर आउने पूँजी संगठित रुपमा भित्रन थालेको छ । लगानी भित्र्याउन देखा परेका कानूनी व्यवधान क्रमशः सम्बोधन हुने क्रम जारी छ । वैदेशिक लगानीका सम्भावनाहरु सीमित भएको र आन्तरिक स्रोत साधनको सिमितताबीच रहेको नेपालका लागि गैरआवासीय नेपाली समुदायको उपस्थिति आर्थिक खाडल पूर्तिका लागि नौलो अवसर बन्न सक्ने देखिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
विदेशमा रहेका नेपालीलाई एउटै छातामा समेट्ने उद्देश्यले स्थापनाको दुई दशकको यस अवधिमा विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन उत्साहित रहेको संघले बताएको छ ।
पछिल्लो २० वर्षको अवधिमा गैरआवासीय नेपाली संघमार्फत उल्लेख्य परोपकारी कार्य भएको बताइएको छ । संघका अनुसार परोपकारका क्षेत्रमा मात्र एक अर्बको सहयोग गरिएको छ । एनआरएनए फाउण्डेशनमार्फत प्राकृतिक प्रकोप, विभिन्न विकास आयोजनाहरुको निर्माण, शिक्षा, स्वास्थ्य चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, कला तथा संगीत क्षेत्रमा सहयोग, क्षमतावृद्धि, अन्तर्राष्ट्रियस्तरको खेलकुद विकास, गैरआवासीय नेपालीहरुको उत्थान, विपत् व्यवस्थापन जस्ता क्षेत्रहरुमा सहयोग गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ, आप्रवासन संगठन आइओएमसहितका विभिन्न अन्तर्राष्टिय संघसंस्थासँग सहकार्य गरी संघले विदेश र स्वदेशमा रहेका नेपालीलाई सहयोग गर्दै आएको छ । दोस्रो पुस्ताका गैरआवासीय नेपाली, युवा तथा महिलालालाई विशेष प्राथमिकतामा राखिएको छ । विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक(सामाजिक परिवेश राम्रोसँग बुझेका गैरआवासीय नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली यस संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अर्थमा सम्पन्न व्यक्ति मात्रै होइन, संघ श्रमिकमैत्री बनेको छ ।
उक्त महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । संघको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशन मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ । नेपालमा आउनुभएका मतदाताको लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ ।