अर्थतन्त्रमा सुधार ल्याउन अझै मिहिनेत गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडाैं,२१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत गरेपनि व्यवहारमै देखा पर्ने गरी सुधार ल्याउन अझै मिहिनेत गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बिहीबार ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु पनि अगाडि सारेको बताएका छन् ।
उक्त कार्यक्रममा उनले भने, ‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु । यसमा समेत यहाँहरूको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारीवोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’
मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह समेत गरे ।
जिम्मेवार व्यावसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक हुने र जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्ने उनकाे भनाइ छ ।