एनसेलको सेयर खरिदबिक्री विवाद बारे यस्ताे भन्छन् सतिशलाल आचार्य

काठमाडाैं,२१ मंसिर । एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको बताएकाे छ ।
एनसेलले एक विज्ञप्ति जारी गर्दै ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै यस्ताे बताएकाे हाे ।
सेयर खरीद बिक्रि प्रक्रियामा विवाद आएपछि एनसेलले निकालेको विज्ञप्तिमा स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका शेयरधनी सतिश लाल आचार्यले आजियाटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको बताएका छन् ।
‘सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ’, आचार्यले भने ‘यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ ।’
यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने उनले बताए ।
उनले भने,” एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्घ रहेको र आफ्ना सम्पुर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं ।”
एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चितसमेत गराएका छन् । एक जिम्मेवार कम्पनीको रुपमा सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने जारी विज्ञप्तीमा बताइएकाे छ ।