तीन दिनदेखि सेयर बजारमा गिरावट, हाइड्रोपावर समूह चम्कियो, रिभर फल्स पावरमा सर्किट लाग्यो

काठमाडाैं, २२ जेष्ठ । नेपाली सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ५.४९ अंकले घटेर २,६४१.४६ अंकमा पुगेको छ। बजार ओरालो लागिरहँदा हाइड्रोपावर समूह भने सकारात्मक देखिएको छ। हाइड्रोपावर समूहको सूचक ४२.३९ अंकले बढेको छ भने लगानी समूह पनि सामान्य वृद्धि भएको समूहमा परेको छ। बाँकी सबै समूहहरू राताम्य रहेका छन्।
बजार सूचकमा गिरावट आउँदा पनि कारोबार रकममा भने सुधार देखिएको छ। बिहीबार नेप्सेमा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्ला दिनहरूको तुलनामा राम्रो मानिएको छ। आजको कारोबारमा ९४ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १५३ वटा कम्पनीको सेयर भाउ घटेको छ।
आजको प्रमुख आकर्षण रिभर फल्स पावर कम्पनी रह्यो, जसको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर भाउ प्रतिकित्ता ४७.६९ रुपैयाँले बढेर ५२४.६० रुपैयाँमा पुगेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको सेयर भाउ ९.९८ प्रतिशतले बढेर ६३२.१० रुपैयाँ, प्योर इनर्जीको ९.९८ प्रतिशतले बढेर ५१२.३० रुपैयाँ, बरुण हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेर ३१९.३० रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको ८.६१ प्रतिशतले बढेर १,०८० रुपैयाँमा पुगेको छ। यस्तै, राधी विद्युत, सुपर मादी, युनिभर्सल पावर, एशियन हाइड्रोपावरसहित ९४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ।
बजारमा केही कम्पनीले राम्रै मुनाफा दिलाए पनि अधिकांश लगानीकर्ताको पोर्टफोलियोमा घाटा देखिएको छ। आज सबैभन्दा धेरै गिरावट ओम मेगाश्री कम्पनीको सेयरमा देखियो, जसको मूल्य ९.७६ प्रतिशतले घटेर १,८०० रुपैयाँमा झरेको छ। यस्तै, उन्नती सहकार्य लघुवित्तको सेयर ३.७६ प्रतिशत, एनएमबि ५० को ३.६७ प्रतिशत, सुपर माई हाइड्रोपावरको ३.५५ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयर ३.४७ प्रतिशतले घटेको छ।