Date

शुक्र, जेष्ठ २३, २०८२
Fri, June 6, 2025

लगानी बोर्डको ६४औं बैठकबाट मुक्तिनाथ केवलकारलगायत ठूला परियोजनाको लगानी स्वीकृति, ५७ अर्बको परियोजना अघि बढ्ने

लगानी बोर्डको ६४औं बैठकबाट मुक्तिनाथ केवलकारलगायत ठूला परियोजनाको लगानी स्वीकृति, ५७ अर्बको परियोजना अघि बढ्ने

काठमाडाैं, २२ जेष्ठ । लगानी बोर्ड नेपालको ६४ औं बैठकले देशका विभिन्न क्षेत्रका पूर्वाधार परियोजनामा लगानी स्वीकृत गर्ने महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विशेषगरी पर्वत–मुस्ताङलाई जोड्ने मुक्तिनाथ केवलकार परियोजनालाई स्वीकृति दिएको हो।

बैठकमा पारित निर्णय अनुसार पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म ८१.०४१ किलोमिटर लामो केवलकार निर्माण गरिनेछ, जसमा सातवटा स्टेशन रहनेछन्। कुल ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण हुने सो परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (BOOT) मोडलमा अगाडि बढाइनेछ। मुक्तिनाथ दर्शन प्रालिले उक्त परियोजना निर्माण गर्न प्रस्ताव गरेको हो।

बैठकले परियोजना विकास सम्झौताका शर्तहरू तय गर्नका लागि बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। यो परियोजना सञ्चालनमा आएपछि स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना (जसको लागत १६० अर्ब रुपैयाँ अनुमान गरिएको छ) को विस्तृत परियोजना प्रतिवेदन (DPR) थप अध्ययन गर्ने निर्णय पनि गरेको छ। साथै, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि दक्षिण कोरियाको कोरेल (KORAIL) संस्थासँग सम्झौता गर्ने विषयमा मन्त्रिपरिषद्‌बाट स्वीकृति लिने निर्णय गरिएको छ।

यसबाहेक, बोर्डले ४३.२ मेगावाट क्षमताको छिलुङ खोला जलविद्युत आयोजना, २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना, र ४४ मेगावाटको बकान खोला जलविद्युत परियोजनालाई पनि लगानी स्वीकृति दिएको छ। यी आयोजना स्वीकृत भएसँगै जलविद्युत क्षेत्रमा थप उर्जा उत्पादन र रोजगार सृजनाको बाटो खुल्ने अपेक्षा गरिएको छ।

बैठकले जनकपुरमा रिफाइन इडिबल ओयल (खाने तेल) उद्योग स्थापना र विभिन्न स्थानमा सूचना प्रविधि (IT) उद्यान स्थापना सम्बन्धी प्रस्तावहरूलाई समेत अघि बढाउने निर्णय गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *