छ महिनामै तेस्रोपटक ब्याजदर कटौती: भारतीय रिजर्भ बैंकको नीतिगत दर ५.५ प्रतिशतमा झर्यो

काठमाडाैं, २३ जेष्ठ । भारतीय रिजर्भ बैंक (आरबीआई)ले चालु वर्ष २०२५ को पहिलो छ महिनाभित्र तेस्रोपटक ब्याजदर कटौती गरेको छ। शुक्रबार सम्पन्न मौद्रिक नीति समितिको (एमपीसी) बैठकपछि आरबीआईका गभर्नर सञ्जय मल्होत्राले नीतिगत ब्याजदर (रिपो रेट) ५० आधार बिन्दुले घटाउने निर्णय सार्वजनिक गरेका हुन्।
मल्होत्राले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै, मौद्रिक नीति समितिले लिक्विडिटी एडजस्टमेन्ट फेसिलिटी अन्तर्गतको नीतिगत दर ५.५ प्रतिशतमा ल्याउने निर्णय गरेको जानकारी दिए। यो निर्णय तत्काल लागू हुने उनले स्पष्ट पारे।
त्यस्तै, स्थायी निक्षेप सुविधा (एसडीएफ) को दर घटाएर ५.२५ प्रतिशत र सीमान्त तरलता सुविधा (एमएसएफ) तथा बैंक दर ५.७५ प्रतिशतमा कायम राखिएको छ। अब भारतमा ब्याजदर करिडोर ५.२५ प्रतिशतदेखि ५.७५ प्रतिशतको साँघुरो घेरामा सीमित हुने भएको छ।
आरबीआईको यो निर्णय महँगाइ नियन्त्रण, लगानी प्रवाह प्रोत्साहन तथा आर्थिक वृद्धिलाई सघाउने उद्देश्यले गरिएको बताइएको छ। यसअघि आरबीआईले सन् २०२५ को फेब्रुअरी र अप्रिल महिनामा पनि ब्याजदर कटौती गरेको थियो।