Date

शनि, जेष्ठ २४, २०८२
Sat, June 7, 2025

१० महिनामै डेढ खर्बभन्दा बढी बीमा शुल्क आर्जन, बीमा क्षेत्रमा दोहोरो अंकको वृद्धि दर

१० महिनामै डेढ खर्बभन्दा बढी बीमा शुल्क आर्जन, बीमा क्षेत्रमा दोहोरो अंकको वृद्धि दर

काठमाडाैं, २३ जेष्ठ । आर्थिक मन्दी र सुस्त अर्थतन्त्रका बीच पनि नेपाली बीमा क्षेत्रले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउनदेखि बैशाखसम्म) बीमा कम्पनीहरूले कुल १ खर्ब ७६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.०३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीहरूले १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा मात्र १५.५५ प्रतिशत वृद्धि भएको छ। चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिमा १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ मात्र थियो।

बीमा व्यवसायमा पहिलो पटक प्रिमियम (प्रथम बीमा शुल्क) आर्जनको पक्षमा पनि उल्लेखनीय प्रगति देखिएको छ। गत वर्षको तुलनामा यो रकम २८.९८ प्रतिशतले वृद्धि भई ३० अर्ब ९० करोड २२ लाख रुपैयाँ पुगेको छ। गत आवमा यो रकम २४ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ थियो। त्यसैगरी, बीमा नविकरणमार्फत संकलन हुने बीमा शुल्क पनि १२.६९ प्रतिशतले वृद्धि भई १ खर्ब ९ करोड ४४ लाख ८० हजार रुपैयाँ पुगेको छ।

बीमा कम्पनीहरूले १० महिनामा कुल ५६ लाख ४७ हजार ९०९ वटा बीमालेख जारी गरेका छन्, जुन गत वर्षको तुलनामा १.९ प्रतिशत मात्र वृद्धि हो। तर सक्रिय जीवन बीमालेखको संख्या भने उल्लेखनीय रूपमा बढेको छ। अहिले सक्रिय जीवन बीमालेख १ करोड ५३ लाख ६ हजार ९९३ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.६८ प्रतिशतले बढी हो।

निर्जीवन बीमा व्यवसायमा पनि प्रगति देखिएको छ। चालु आवको १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँको तुलनामा ८.४६ प्रतिशत बढी हो। यस अवधिमा निर्जीवन बीमालेख बिक्री पनि ७.५९ प्रतिशतले वृद्धि भई २६ लाख ६६ हजार ८८७ वटा पुगेको छ।

हाल देशभर कुल जनसंख्याको ४३.३९ प्रतिशतमा बीमा पहुँच पुगेको देखिन्छ। यद्यपि, अघिल्लो वर्षको तुलनामा बीमा पहुँचमा केही कमी आएको भए पनि समग्र रूपमा बीमा दायरा विस्तार भइरहेको छ।

हाल नेपाली बीमा क्षेत्रमा १२ हजार १६२ जना कर्मचारी कार्यरत छन्, जसमा ६ हजार ८७ जना जीवन बीमा र ६ हजार ७५ जना निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्। देशभर बीमा कम्पनीहरूको २,९९८ वटा शाखा कार्यालय सञ्चालनमा छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *