टोयोटाको हाइब्रिड रणनीतिले बिक्री उचालियो, ६ महिनामै ५१ लाखभन्दा बढी गाडी बिक्री

काठमाडाैं, २० भदाै । विश्व अटो बजार विद्युतीय सवारीतर्फ तीव्र गतिमा मोडिँदै गर्दा जापानी अटोमोबाइल कम्पनी टोयोटाले भने आफ्नो सन्तुलित रणनीति र उत्पादन क्षमताको आधारमा बिक्रीमा नयाँ उचाइ हासिल गरेको छ। कम्पनीले सन् २०२५ को पहिलो ६ महिनामा (जनवरी–जुन) मात्र ५१ लाख ५९ हजार युनिट कार बिक्री गरेको छ।
यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले बढी हो। यससँगै टोयोटा फेरि एकपटक विश्वकै सबैभन्दा ठूलो गाडी निर्माता कम्पनीको हैसियतमा उभिएको छ।
हाइब्रिडमा विशेष सफलता
टोयोटाको कुल बिक्रीमध्ये करिब ४८ प्रतिशत गाडी हाइब्रिड प्रविधिमा आधारित छन्। गत वर्षको तुलनामा हाइब्रिड बिक्री १९ प्रतिशतले बढेको छ। इन्धन किफायती प्रविधि, उपभोक्ताको ब्रान्डमाथि विश्वास र शहरीकरणको तीव्र विस्तारले यो वृद्धिमा सहयोग गरेको कम्पनीको भनाइ छ।
बजार विस्तार र मुख्य योगदान
टोयोटाको सफलतामा उत्तर अमेरिका, चीन, जापान र भारत प्रमुख योगदानकर्ता बने। युरोपमा पनि बिक्री ५.८ प्रतिशतले बढेको छ। कम्पनीले उत्पादन क्षमतामा वृद्धि र रणनीतिक बजार विस्तारलाई प्राथमिकतामा राख्दै प्रतिस्पर्धी वातावरणमा आफ्नो स्थान मजबुत बनाउन सफल भएको छ।
नेपाली बजारतर्फ टोयोटाको ध्यान
टोयोटाले पछिल्ला वर्षमा नेपालमा प्रिमियम गाडीमार्फत आफ्नो उपस्थिति बनाउँदै आएको छ।
-
लोकप्रिय मोडलहरू – टोयोटा र्याभफोर, ल्यान्ड क्रूजर प्राडो, एलसी–३००।
-
उदयमान हाइब्रिड मोडलहरू – यारिस क्रस हाइब्रिड र कोरोला क्रस हाइब्रिड, जसले तुलनात्मक रूपमा किफायती मूल्यमा हरित प्रविधिको अनुभव दिने भएकाले युवापुस्तामा समेत आकर्षण बढाएको छ।