Date

मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025

इप्पानले जेनजी दमनप्रति गहिरो चिन्ता व्यक्त

इप्पानले जेनजी दमनप्रति गहिरो चिन्ता व्यक्त

काठमाडाैं, २४ भदाै । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनरेसन जेड (जेनजी) युवामाथि भएको बल प्रयोगप्रति गहिरो चिन्ता व्यक्त गर्दै कडा शब्दमा निन्दा गरेको छ।

इप्पानले देशभरका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा १९ जना किशोर–किशोरीको मृत्यु र सयौं घाइते भएका घटनालाई ‘निर्मम र बर्बर दमन’को संज्ञा दिएको छ। संगठनले युवाहरूको आन्दोलनमा गरिएको बल प्रयोगले गम्भीर निराशा पैदा गरेको जनाएको छ।

इप्पानका अनुसार ऊर्जा क्षेत्रमा ३ हजार मेगावाटभन्दा बढी उत्पादन भइसकेको र ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। यस क्षेत्रमा आवद्ध उद्यमीहरूले राज्यलाई वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी रोयल्टीसहित अर्बौं रुपैयाँ कर तिर्दै आएका छन्। संगठनले ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लाखौं नेपालीलाई रोजगारी दिएको र समृद्धिका लागि योगदान पुर्‍याउँदै आएको उल्लेख गरेको छ।

इप्पानले भनेको छ, “राज्य सञ्चालनमा रहेका निकायहरू सिमित व्यक्तिको स्वार्थमा चलेका छन्। विकासका आयोजनामा वर्षौँ ढिलाइ, भ्रष्टाचार, वेथिति र कुशासनकै कारण युवाहरू सडकमा आउन बाध्य भएका हुन्।”

संगठनले २०६२/६३ को जनआन्दोलनको स्मरण गर्दै भनेको छ, “त्यसबेला १९ दिनको आन्दोलनमा १९ जनाको ज्यान गएको थियो र निरंकुश राजाले त्यसपछि सत्ता छाडेका थिए। तर अहिले लोकतान्त्रिक सरकारकै पालामा एकैदिन १९ किशोर–किशोरीको मृत्यु हुनु अत्यन्तै खेदजनक छ।”

इप्पानले तीन मुख्य माग राखेको छ:

  1. घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन।
  2. मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार।
  3. प्रदर्शनकारीहरूको वैध मागको यथोचित सुनुवाइ।

संगठनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ र उनीहरूको उपचारका लागि सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्न अपिल समेत गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *