विदेशी विनिमय सञ्चिति २८ खर्ब नाघ्यो
काठमाडाैं, ३१ भदाै । नेपालको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनासम्ममा २८ खर्ब रुपैयाँ पार गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति रु.२८ खर्ब ६ अर्ब ४ करोड पुगेको हो।
यो अघिल्लो असार मसान्तको रु.२६ खर्ब ७७ अर्ब ६८ करोडको तुलनामा ४.८ प्रतिशतको वृद्धि हो। अमेरिकी डलरमा हेर्दा, २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको सञ्चिति २.७ प्रतिशतले बढेर साउन मसान्तमा २० अर्ब ३ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकको हिस्सा मात्रै रु.२४ खर्ब १४ अर्ब ६४ करोडबाट बढेर ४.० प्रतिशतले वृद्धि भई रु.२५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १२.० प्रतिशत बढेर रु.२ खर्ब ९४ अर्ब ५८ करोडमा पुगेको छ।
कुल सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यो वृद्धिले आयात व्यवस्थापन र भुक्तानी सन्तुलन सुदृढ गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।



