हिन्दू परम्पराअनुसार गाईलाई माता महालक्ष्मीको प्रतीक मानिन्छ। गाईको शरीरमा त्रिदेव, त्रिदेवी र तेत्तिसकोटी देवीदेवताहरूको वास हुन्छ भन्ने विश्वास छ। त्यसैले आजको दिनमा गाईको पूजा आराधना गरी धन, समृद्धि र सौभाग्य प्राप्तिको कामना गरिन्छ।
गाउँघरमा विशेष उत्साहका साथ गाईपूजा मनाइन्छ। किसानहरूले आफ्ना गाई र बाच्छालाई सजाएर, माला र टीका लगाएर पूजा गर्छन्। शहरमा गाई पाल्ने कम भएकाले मानिसहरू नजिकैको गौशाला वा टोलमा रहेका गाई खोजी पूजा गर्ने गर्छन्। यस दिन गाईका गोठ र गौशालाहरू फूलमालाले सजाइएका हुन्छन्।
हिन्दू धर्ममा गाई, गोबर र गहुँतको धार्मिक तथा व्यवहारिक महत्व अत्यन्तै ठूलो छ। पूजाआजाका अवसरमा गोबरले घर लिपेर पवित्र पारिन्छ, पञ्चामृत बनाउन गाईको दूध अनिवार्य हुन्छ, र शुद्धीकरणका लागि गौमुत्र (गहुँत) प्रयोग गरिन्छ। गाईका यी पाँच वस्तुहरूलाई ‘पञ्चगव्य’ भनिन्छ, जसको धार्मिक तथा औषधीय उपयोग हुन्छ।
गाईलाई हिन्दू धर्ममा ‘गौमाता’ भनेर आमा सरह सम्मान गरिन्छ। शास्त्रमा जननी, गाई, नदी, धरती र देवी दुर्गालाई **‘पञ्चमाता’**का रूपमा मानिन्छ।
गाई तिहारमा विशेष रूपमा गाईको खुट्टा पूजा गर्ने, गाईको टाङ्ग मुनिबाट छिर्ने, र बाच्छीलाई नून–पीठो खुवाउने परम्परा प्रचलित छ। जनैपूर्णिमाको दिन बाँधिएको रक्षा डोरो गाईको पुच्छरमा बाँध्ने चलन पनि यसैदिन गरिन्छ। पौराणिक मान्यताअनुसार यसो गर्दा आत्माले मृत्यु पश्चात बैतर्णी नदी पार गर्न सहज हुन्छ।
गाईपूजासँगै दियो, कलश र गणेश स्थापना गर्ने परम्परा पनि छ। पूजा सकेपछि ती सामग्री घरको मूलढोकामा राखिन्छन्। साँझ घर लिपपोत गरेर मध्यरातमा महालक्ष्मीको आराधना गर्ने चलन शाक्त परम्परासँग जोडिएको छ।
यसै रात नेपाली घर–घरमा द्यौसी भैलो, नाचगान र जाग्रामको वातावरण सिर्जना हुन्छ। गाउँघरमा मानिसहरू रातभर बस्दै सेलरोटी पकाउने, भैलो खेल्ने र देवी लक्ष्मीको स्वागत गर्ने परम्परा अझै जीवित छ।