Date

सोम, कार्तिक १०, २०८२
Mon, October 27, 2025

काठमाडौं उपत्यकामा ‘स्वीप अपरेसन’: लुटिएका हतियार फिर्ता अभियान तीव्र

काठमाडौं उपत्यकामा ‘स्वीप अपरेसन’: लुटिएका हतियार फिर्ता अभियान तीव्र

काठमाडाैं, १० कार्तिक । उपत्यका प्रहरीले ‘जन–जेड आन्दोलन’का क्रममा लुटिएका हतियार फिर्ता गर्न ‘स्वीप अपरेसन’ सुरु गरेको छ । आइतबारदेखि सुरु गरिएको उक्त अपरेसनको उद्देश्य चोरी भएका हतियार, सामग्री फिर्ता ल्याउने र संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने रहेको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीका अनुसार यो अपरेसन सुरक्षा–संवेदनशील प्रकृतिको संयुक्त र योजनाबद्ध अभियान हो । “हतियार, सामग्री फिर्ता ल्याउने र संलग्नहरूलाई पक्राउ गर्ने उद्देश्यले यो अपरेसन सञ्चालन गरिएको हो,” उनले भने ।

आइतबार अपरेसनको पहिलो चरणमा काठमाडौंका विभिन्न स्थानमा व्यापक खोजतलास गरिएको थियो । सो क्रममा काठमाडौं महानगरपालिका–३२ अन्तर्गत सुविधानगरस्थित सम्पदा बोइज होस्टलको ब्लक ‘बी’ र काठमाडौं महानगरपालिका–३१ को प्रयाग मार्गस्थित ब्लक ‘ए’ मा प्रहरीले छापा मारेको थियो ।

ब्लक ‘ए’ भित्रको स्टोर कोठाबाट प्रहरीले केही लुकेर राखिएका सामग्री फेला पारेको एआईजी कार्कीले जानकारी दिए । बरामद सामग्रीमा दुई वटा ह्याण्डकफ, एक एपीएफको बडी प्रोटेक्टर र लाठी, एक प्रहरीको बञ्चरो र एउटा हार्ड डिस्क रहेका छन् ।

घटनामा संलग्न आरोपमा जनकपुर उपमहानगरपालिका–७, धनुषाका २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठाकुर सो होस्टलको ब्लक ‘ए’ का वार्डेन हुन् ।

त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीस्थित मोतीचोकमा फेला परेको एउटा चिनियाँ ह्याण्डकफ प्रहरीले बरामद गरेको छ । ललितपुर प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार उक्त ह्याण्डकफ टिकाथली प्रहरी चौकीबाट खटिएको टोलीले ल्याएको हो ।

यसअघि आइतबार दिउँसो टिकाथलीकै हनुमन्ते खोलाको किनारबाट प्रहरीले एउटा चिनियाँ पेस्तोल, म्यागेजिन र तीन राउण्ड गोली फेला पारेको थियो ।

जन–जेड आन्दोलनको दोस्रो दिन उपत्यकाका विभिन्न प्रहरी इकाइहरूबाट साना र ठूला हतियारहरू व्यापक रूपमा लुटिएको प्रतिवेदन आएको थियो ।

गृह मन्त्रालयले लुटिएका हतियार फिर्ता गर्न अघिल्लो असोज महिनासम्मको समय सीमा तोकेको थियो । उक्त समयसीमा सकिएपछि मन्त्रालयले विशेष अपरेसन सञ्चालन गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *