Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पश्चिम सेतीबाट थ्री गोर्जेजको बिदाई

पश्चिम सेतीबाट थ्री गोर्जेजको बिदाई

काठमाडौं, ३ असोज । पश्चिम सेती जलविद्युत् आयोजनाबाट चाइना थ्री गोर्जेज इन्टरनेशनल कर्पोरेशन (सीटीजीआई) लाई बिदाइ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनीलाई बिदाई गर्ने निर्णय गरेको हो ।
लगानी बोर्डले गत भदौ १२ र १३ मा सीटीजीआईसँग अन्तिम पटक वार्ता गरी पश्चिम सेती निर्माणमा चिनियाँ कम्पनी अनिच्छुक रहेको र नेपाली पक्ष जति लचक हुँदा पनि एक पछि अर्को शर्त तेस्र्याएर अनिच्छा निर्माण देखाएको बोर्ड बैठकलाई जानकारी गराएको थियो । सीटीजीआईले डलरमा विद्युत् खरिद सम्झौता र आयोजनाको क्षमता घटाउने विषयमा लगानी बोर्ड लचक हुँदा पनि पुनर्वासमा ठूलो खर्च लाग्ने तथा अन्य प्राविधिक जटिलताहरु रहेको भन्दै निर्माण गर्न नसकिने बताएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले विदेशी लगानीका आयोजनामा शुरुका १० वर्षसम्म अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरेकोमा वार्ताका क्रममा चिनियाँ कम्पनीका लागि १२ वर्षसम्म डलरमा विद्युत् खरिद गर्न नेपाली पक्ष राजी भएको थियो । नेपाली पक्षले यसअघि निर्धारण गरिएको आयोजनाको क्षमता ७५० मेगावाटबाट घटाएर ६०० मेगावाटको आयोजना निर्माण गर्न आग्रह गरेको थियो । तर चिनियाँ पक्षले आयोजनाको लागत उच्च रहेकोले उचित प्रतिफल प्राप्त नहुने निष्कर्ष निकालेको थियो ।
थ्री गोर्जेजसँग २०६८ साल फागुन १७ मा पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो भने गत वर्ष कार्तिक महिनामा सीटीजीआई र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त उपक्रममा हस्ताक्षर हुँदा २५ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको ७५ प्रतिशत हिस्सा सीटीजीआईको सेयर हुने गरी कम्पनी दर्ता गर्ने र सोही कम्पनीले पश्चिम सेती निर्माण गर्ने सहमति भएको थियो । लगानी बोर्डको गत साउन १ मा प्रधनमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले चिनियाँ कम्पनीसँग अन्तिम चरणमा वार्ता गरी दुई महिनाभित्र पश्चिम सेतीको विषय टुंग्याउन आग्रह गरेको थियो ।
लगानी बोर्डको बोर्ड बैठकले पश्चिम सेतीका सम्बन्धमा लगानी ढाँचा तयार गर्न बोर्डलाई निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x