Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चिनीमा यो कस्तो खेल ?

चिनीमा यो कस्तो खेल ?

दिलु कार्की काठमाडौं, १९ असोज । संसदीय समितीले चिनीको मुल्य ६३ रुपैँया प्रतिकेजी कायम गर्न निर्देशन दिएको छ । चिनीको मुल्यलाई लिएर खिचातानी भएपछि समितिले चिनीको एउटा मुल्य कायम गरेको हो ।

व्यापारीहरुले चिनीको मुल्य अत्याधीक बढाउँदै ८० देखी ८५ रुपैयाँ सम्म प्रतिकेजी बेच्दै आएकोमा सरकारले ७० रुपैयाँमा बेच्न निर्देशन दिएको थियो । सरकारको उक्त निर्देशनको अवज्ञा गर्दै खुद्रा व्यापारीहरुले ७० रुपैयाँ प्रतिकेजीमा चिनी बेचेका थिएनन् ।

यता, दशैंका लागि सरकारले संचालन गरेको सुपथमुल्य पसलमा पनि ७३ रुपैयाँ प्रतिकेजीमा चिनी बिक्रीमा राखिएको थियो । सरकारी निकायले पनि तोकिएको बढि मुल्यमा चिनी बिक्री गरेको र व्यापारीहरुले पनि मनलागि मुल्य निर्धारण गर्दै चिनी बिक्री गरेकोमा संसदीय समितीले चिनीको मुल्य ६३ रुपैँया प्रतिकेजी कायम गर्न निर्देशन दिएको छ ।

चिनी उत्पादक संघ र होलसेल व्यापारीहरुले बढी मुल्यमा बिक्री गर्ने हुदाँ चिनीको मुल्य बढेको खुद्रा व्यापारीहरुको अरोप रहेको छ । तर, चिनी उत्पादक संघले भने चिनी प्रतिकेजी ६४ रुपैयाँ ५० पैसामा बेचेको जानकारी दिएको छ । बजारमा चाहिने भन्दा बढी चिनी स्टकमा रहेको भन्दै चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बजारमा चिनी अभाव कसरी सृजना भयो त्यसमा आफु आश्र्चय परेको बताएका छन् । चाडपर्वको समयमा बजारमा चिनीको माग बढी हुने हुदाँ चाहिने चिनी वितरण गर्न सकिने भन्दै अग्रवालले परेको अवस्थामा संघले चिनी भ्याट भन्दा अगाडीको मुल्यमा पनि वितरण गर्न तयार रहेको बताएका छन् । संघले हाल ५७ रुपैयाँ ५० पैसामा १३ प्रतिशत भ्याट जोडेर प्रतिकेजी ६४ रुपैयाँ ५० पैसामा प्रतिकेजी चिनी बेचिरहेको जानकारी दिएको छ ।

होलसेलबाट र चिनी वितरक संघबाट नै ७० रुपैयाँ प्रतिकेजीमा खुद्रा व्यापारीहरुले किन्नु पर्ने हुदाँ ७० रुपैया वा ६३ रुपैयाँमा चिनी बेच्न नसक्ने खुद्रा व्यपारी संघका अध्यक्ष पवित्रमान ब्रर्जचार्यले बताएका छन् । उनि भन्छन्, सरकारी मातहतका मान्छेहरु बजार नबुझि कागजमा हेरेर निणर्य गर्छन्, वास्तविकता के हो त्यो पनि बुझ्नु पर्छ । हचुवाको भरमा निर्देशन दिएर हुन्छ र सरकारको यस्तै पारा हो भने खुद्रा व्यापारीहरु कसैले पनि चिनीको व्यापार गर्दैनौं ।

चाडपर्वमा चिनीको खपत बढी हुने गर्दछ । यही समयमा नै व्यापारीले चिनीको मुल्य १५ देखी २० रुपैयाँसम्म बढाउने र सरकारले असमान्य रुपमा घटाउन निर्देशन दिँदा कालोबजारीको मारमा भने उपभोक्ता नै परेका छन् । बजारमा १ केजी चिनी किन्न जादा समेत व्यापारीहरु चिनी छैन भनेर ग्राहकहरुलाई फर्काइ रहेका छन् । व्यापारीहरुले सोझै चिनी भएर पनि अहिले बेच्न नसक्ने बताउछन् । लागत भन्दा पनि कम मुल्यमा चिनी बेच्ने सरकारको निर्देशन छ, हामी घाटा खाएर कहाँ चिनी बेच्न,ु बढीमा बेच्दा पनि कार्बाही गर्छु भन्छ सरकार त्यो भन्दा त बेच्दै नबेच्यो आन्नद, काठमाण्डौ असनका एक खुद्रा व्यापारी भन्छन् ।

सरकारले तोकिदिएको मुल्यमा चिनी खरिद गर्न गयो भने खुद्रा पसलमा कतै पनि चिनी किन्न नपाएको गुनासो भोटाहीटिमा चिनी किन्न पुगेका ग्राहक कौसिला चौलागाँई बताउँछिन् । नेपाल सरकारले आयातमा कोटा तोकेसँगै बजारमा चिनीको मुल्य बढेको तर बढेको मुल्यमा चिनी बेच्न सरकारले नदिएको हुनाले चिनी बेच्न नै नराखेको ब्यापारीहरुले भन्ने गरेको चौलागाँईको गुनासो छ ।

अहिले नेपाली बजारमा नेपालमा उत्पादित चिनी भन्दा अन्य देशको चिनी बढी पाईन्छ । व्यापारीहरुले पाकिस्तान लगाएत अन्य मुलुकहरुमा २५ देखी ३० रुपैयाँ सम्म प्रतिकेजी चिनी ल्याउने र नेपाली ८०÷ ८५ रुपैयाँ प्रतिकेजी बेच्ने गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । स्वदेशी उत्पादनले नै पर्याप्त पुग्ने ठाँउमा विदेशबाट सस्तोमा चिनी आयत गरी व्यापारीहरुले ठगि गरिरहेको बताउदै कन्जुमर आई नेपालीको अध्यक्ष बिमला खनालले सरकार पनि त्यही कालो बजारी गर्ने व्यापारीसंग मिलेको आरोप लगाएकी छिन् । पहिले पहिले अनुगमन गर्दा उपभोक्ता अधिकारकर्मीहरुको अनिवार्य उपस्थीति हुन्थ्यो तर अहिले बाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताकर्मीहरुलाई समावेश नगर्ने अध्यक्ष खनालले बताईन् । चिनीमा कालो बजारी बढे पश्चात् उपभोक्ताकर्मीहरुले बजार अनुगमनका लागि सहकार्य गर्न आग्रह गर्दा समेत कुरा नसुनेको र सरकारले नै आजको समस्या सृजना गरेको आरोप उनको छ ।

सरकारले कोटा नतोक्दासम्म प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म रहेको चिनीको मूल्य अहिले ८० देखि ८५ रुपैयाँसम्म पुगेको छ । भदौ ३१ गते नेपाल सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो । यो वर्ष १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न पाउने निर्णय गत भदौ मसान्तमा बसेको मन्त्रिपरिषद्ले गरेको थियो । यो निर्णयसँगै आयात रोकिनु पर्ने हो तर बजारमा नेपाली उत्पादनका चिनी भन्दा अन्य मुलुकका चिनी बढी पाईन्छन् ।

अहिले चिनीको निश्चित बजार मूल्य नै छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले आफु खुशी चिनी बेचिरहेका हुनाले साल्टलाई पनि चिनी बितरणमा सरकारले रोक लगाएको छ । कर्पोरेसनले बजार हस्तक्षेप गर्न सकेको छैन । बजार हस्तक्षेप गर्ने अधिकार भए पनि चिनीको मूल्यवृद्धि हुँदा कर्पोरेसनले मूल्य नियन्त्रण गर्ने कुनै प्रयत्न नै गरेको छैन । कर्पोरेसनले नै प्रतिकिलो ७२ र ७३ रुपैयाँमा चिनी बेचिरहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x