आवास पुनर्निर्माणको सरकारी अनुदान मास्नेबाट भराउने तयारी, स्थानीय निकायलाई असुल्ने जिम्मेवारी
काठमाडौं, ९ कार्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि आवास निर्माण नगर्ने, अन्यत्र आवास हुँदाहुँदै पनि अनुदान लिएर एक कोठे सामान्य टहरा निर्माण गरी अनुदान दुरुपयोग गर्नेमाथि निगरानी शुरु गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले यसरी अनुदान दुरुपयोग गर्नेबाट अनुदान असुल गर्ने तयारी भैरहेको जानकारी दिए ।
यससम्बन्धमा अर्थमन्त्रालयसँग छलफल भैरहेको र असुल गर्नका लागि स्थानीय निकाय, गाउँपालिका, नगरपालिकाको सहयोग लिइने ज्ञवालीले जानकारी दिए । ‘गाउँपालिका, नगरपालिका स्थानीय मुद्दामा जानकार हुन्छन्, उनीहरुलाई अनुदान दुरुपयोगको लगत संकलन गरी असुलउपर गर्न प्राधिकरणले छिट्टै नै अनुमति दिनेछ,’ उनले भने । ज्ञवालीका अनुसार, यसरी असुल उपर गरिएको रकम प्रोत्साहन अनुदान बापत् स्थानीय तहलाई नै दिने तयारी पनि भैरहेको छ । प्राधिकरणले ग्रामीण क्षेत्रमा निजी आवास पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको भए पनि सहरी क्षेत्रमा जग्गाको समस्या, जग्गा दर्ता तथा धनी प्रमाणपत्रको अभाव जस्ता समस्याहरुको कारण निजी आवास पुनर्निर्माणले गति लिन नसकेको बताए ।