विल्डीङ एण्ड कन्स्ट्रक्सन एक्स्पो मङ्सिरमा हुने
काठमाडौं, १२ कात्तिक । नेपालमा भूकम्पपछि सुरक्षित आवास निर्माण गर्ने प्रचलन बढेसँगै त्यसमा प्रयोग हुने प्रविधिका विषयमा जानकारी गराउने उद्देश्यले ‘विल्डीङ एण्ड कन्स्ट्रक्सन एक्स्पो– २०७५’ हुने भएको छ ।
युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टर्स (वाइसीएनसी) को मुख्य आयोजनामा मङ्सिर ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो । आइतवार काठमाडौंमा एक कार्यक्रममा एक्स्पोको जानकारी दिंदै वाइसीएनसीका अध्यक्ष आनन्द सुवेदीले नविनतम प्रविधिको प्रयोगबाट आवास निर्माणबारे एकैथलोबाट सम्पूर्ण जानकारी लिन सकिने बताए । घर बनाउन चाहने अवलोकनकर्तालाई मेलामै निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उनले बताएका छन् । वाइसीएनसी वरिष्ठ उपाध्यक्ष विरेन्द्रराज पाण्डेले विभिन्न प्रविधिको प्रयोग हुँदै गर्दा कुन प्रविधि कसरी, कुन अवस्थामा प्रयोग गर्ने भन्ने विषयमा मेलाले जानकारी दिने बताए ।
आयोजकका अनुसार उक्त एक्स्पोमा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेण्ट्स्, इण्टेरियर डिजाइनर, सिमेण्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय सामग्री, बैङ्क तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतका स्टल रहनेछन् । एक्स्पोको २ लाख बढीले अवलोकन गर्ने बताइएको छ । एक्स्पो विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्लेछ ।