करदातामैत्री कर प्रणालीको विकास गछौं : अर्थमन्त्री खतिवडा
काठमाडौं, १ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले लक्ष्य भन्दा बढी कर संकलन गर्ने भन्दा पनि करदाताहरुसंग आम्दानी अनुसारको कर असुली गर्ने लक्ष्य राखेको बताएका छन् । सातौ राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको कर प्रणालीमा धेरै सुधार आवश्यक रहेको भन्दै सरकार अबका दिनमा करदाता मैत्री कर प्र्रणाली लागु गर्ने योजनामा रहेको बताए । उनले उद्योगी व्यवसायीका साथै आमनागरिकलाई आफ्नो जिम्मेवारी बोध गरि कर तिर्न आग्रह पनि गरे ।
कार्यक्रममा अर्थमन्त्रालयका सचिव राजन खनाल र राजस्व सचिव शिशिरकुमार ढुंगानाले कर प्रणालीमा सरकारले धेरै सुधारहरु गरेको जनाउदै आगामी दिनमा पनि क्रमिकरुपमा सुधार गर्दै जाने बताएका थिए ।
त्यस्तै कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले हाल नेपालले विश्वका अन्य मुलुकमा जस्तै कर नीति अवलम्बन गरिरहेको जानकारी दिदै समय अनुकुल त्यसलाई परिर्वतन गर्दै जाने बताए ।
उत्ता नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुले भने सरकारले राजस्व संकलन बढाउदै गएकाले सो रकम विकास निर्माणमा खर्च गर्नु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा विभिन्न उद्यमी, व्यवसायी, बैकर्स लगायतलाई उत्कृष्ट करदाता सम्मान पनि प्रदान गरिएको थियो ।