भारतीय बैंकको ऋण भारतमै भुक्तानी फछ्र्यौटलाई मात्र
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले केही दिनअघि मात्र भारतीय बैंकबाट नेपाली बैंकहरुले लिन सक्ने ऋणको सीमा बढाएको छ । जसअनुसार, नेपाली बैंकहरुले भारतमा प्रचलित ब्याजदरभन्दा सामान्य बढी ब्याजदरमा बैंकको प्राथमिक पुँजीको ५० प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
तर भारतीय रिजर्भ बैंकको प्रावधानले भारतीय बैंकहरुले नेपालमा लगानी गर्नेगरी ऋण दिन मिल्दैन । भारतीय बैंकहरुबाट नेपाली बैंकले लिएको ऋण भारतमा मात्रै उपयोग गर्न सक्छन् । भारतमा हुने आयातको भुक्तानी फछ्र्यौटमा मात्र भारतीय बैंकबाट प्राप्त ऋण परिचालन गर्न सकिने एक बैंकरले बताए । नेपाल राष्ट्र बैंकले भने परिवत्र्य मुद्रामा पनि प्राथमिक पुँजीको ५० प्रतिशतसम्म विदेशी बैंक तथा वित्तिय संस्थाबाट ऋण ल्याउन खुला गरेको छ ।
तर विदेशी मुद्रामा ऋण ल्याउँदा हुने उतारचढावलाई कभर गर्न हेजिङको व्यवस्था नहुँदा परिवत्र्य विदेशी मुद्रामा उल्लेख्य ऋण प्राप्त हुन सकेको छैन । केही बैंकहरुले भने अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग ऋण लिएका छन् ।