Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा ३.३३% मा, कर्जा लिन आह्वान

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सहुलियत दरमा कर्जा लिन आह्वान गरेको छ । सरकारले बजेटमार्फत् घोषणा गरेको उद्यमशीलता विकास कार्यक्रमलाई कार्यान्वयनका लागि यस बैंकले अग्रसरता देखाएको हो ।
सरकारले बजेटमार्फत् व्यावसायिक कृषि कर्जा, शिक्षित युवा स्वरोजकार कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदायका लागि व्यवसाय कर्जा, वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशीलता कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा तथा भूकम्प पीडितका लागि आवास कर्जा जस्ता बिनाधितो कर्जाको प्रकृतिअनुसार ३ लाख देखि अधिकतम १५ लाख रूपैँयासम्म व्यक्तिगत र सामूहिक जमानीमा ऋण दिने व्यवस्था गरेको छ ।
सबै बैंकहरुबाट यो कर्जा पाइने भए पनि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय उद्यमशीलता विकासका लागि यस्तो कर्जा दिने भएको हो । अन्य बैंकहरुको तुलनामा राष्ट्रिय वाणिज्य बैंकमा सहुलियत दरमा यो कर्जा पाइन्छ । बैंकको आधार दर नै ६.३३ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले उत्पादनशील कर्जामा आधार दरमा २ प्रतिशत बिन्दूले प्रिमियम लिन पाइने व्यवस्था गरेको छ । यो व्यवस्थाले उत्पादनशील अन्य कर्जा पनि बैंकले ८.३३ प्रतिशतमा दिदैं आएको छ । सरकारले ५ प्रतिशत बिन्दूले ब्याजदरमा सहुलियत दिने भएपछि सहुलियत कर्जा ३.३३ प्रतिशतमै लिन सकिने बैंकका सीईओ किरणकुमार श्रेष्ठ बताउँछन् ।
बिना धितो दिइने यस्तो कर्जाको बीमा हुने व्यवस्था छ । कर्जाको बीमाका लागि निक्षेप तथा कर्जा सुरक्षण निगमले गर्दै आएको छ । बीमाको प्रिमियम पनि सरकारले ७० प्रतिशत र बैंकले ३० प्रतिशत बुझाउँछन् । विगतमा यस्ता खालका कर्जा असुलीमा समेत समस्या देखिएकाले सरकारले बीमा गरेको हो । ‘हामीले दिने ऋणको पनि बीमा हुन्छ, उद्यमीको व्यवसायको पनि बीमा हुन्छ ।’ श्रेष्ठले भने, ‘त्यसकारण ऋण असुलीमा कुनै समस्या रहनेछैन ।’
व्यवसाय गर्ने सोच र क्षमता भएकाहरुलाई अब बैंकले सकार्ने धितो नचाहिने उनले बताए । ‘काम गर्न चाहाने तर बैंकले सकार्ने धितो नरहेका व्यक्तिहरुले यो कर्जाको उपयोग गरेर आफूलाई उद्यमी बन्न सक्ने भएका छन्,’ श्रेष्ठले भने, ‘उद्यमशील समाज सिर्जना गर्न यो कर्जाको ठूलो महत्व रहेको छ ।’ ‘स्टार्ट अप’ हरुका लागि त यो वरदान नै भएको श्रेष्ठको भनाई छ । राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्न चाहाने, नवीन सोच भएका युवा युवतीहरुलाई कर्जा लिन पहल गर्न आह्वान समेत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x