दोस्रो हिमालयन हाइड्रो एक्स्पो आज देखि सुरु

काठमाडौं, ४ माघ । आज देखि दोस्रो हिमालयन हाईड्रो एक्स्पो २०१९ काठमाडौंको भृकुटीमण्डप सुरु भएको छ । ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्यले एक्स्पो आयोजना गरिएको हो ।
३ दिन सम्म संचालन हुने सो एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गरेका हुन् । एक्स्पो स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त आयोजनामा गरेको हो ।
एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाहरु लगायत झण्डै एक सय भन्दा बढी स्टल रहेका छन् । जसमा विभिन्न विदेशी कम्पनीहरुका पनि स्टल रहेको छ भने स्टलहरुमा हाइड्रो पावर क्षेत्रमा प्रयोग गरिने आधुनिक सामानहरु राखिएका छन् ।
यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलीकप्टर मार्फत विभिन्न स्थानमा रहेका हाइड्रोपावर परियोजनाहरुको समेत भ्रमण गराउने व्यवस्था गरिएको छ । यसले नेपालको हाइड्रो टुरिजमको विकास हुने विश्वास आयोजकको रहेको छ ।