६ महिनामा १० भन्सार नाका मध्ये ९ वटामा लक्ष्य भन्दा कम राजस्व संकलन
काठमाडौं, ५ माघ । सरकारले चालु आर्थिक बर्षको ६ महिनामा मुलुकका १० ठुला भन्सारनाकाहरुबाट २७ अर्ब ७८ करोड ४९ लाख ३७ हजार रुपैयाँ संकलन गरेको छ । यो राजस्व संकलन १० नाकाबाट लिइएको लक्ष्य भन्दा ५ अर्ब ७० करोड ४७ लाख ८ हजार रुपैयाँ कम हो ।
यी नाकाबाट ३३ अर्ब ४८ करोड ९५ लाख ४५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार ६ महिनामा सरकारले विरगन्ज भन्सारनाकाबाट १३ अर्ब ७२ करोड ८४ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर ६ महिनामा लक्ष्य भन्दा कम ११ अर्ब १९ करोड ११ लाख ४७ हजार मात्र राजस्व संकलन भएको छ ।
यसैगरि भैरहवा भन्सार नाकाबाट पनि लक्ष्य १ अर्ब ७२ करोड ४८ लाख ५७ हजार कम अर्थात ५ अर्ब ७९ करोड १९ लाख २५ हजार मात्र राजस्व संकलन भएको छ । नेपालगन्ज भन्सार नाकाबाट ९८ करोड ६४ लाख ९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा पुस मसान्त सम्म ९५ करोड २५ लाख ९५ हजार, मेची भन्सारनाकाबाट १ अर्ब २ करोड ६० लाख ८९ हजार रुपैयाँ लक्ष्य राखिएकोमा ९९ करोड ३ लाख ४० हजार रुपैयाँ , कपिलबस्तुको कृष्णनगर भन्सार नाकाबाट ६४ करोड २७ लाख ७३ हजार रुपैयाँको लक्ष्य राखिएकोमा ४१ करोड ८९ लाख ८ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ महिनामा १ अर्ब ३७ करोड ४९ लाख १८ हजार रुपैयाँ, सुख्खा बंदरगाहबाट २ अर्ब ५७ करोड ९१ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागको तथ्यांक अनुसार विराटनगर भन्सारनाकाबाट ३ अर्ब ४० करोड २५ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा पुस मसान्त सम्म सो नाकाबाट ३ अर्ब १६ करोड ७८ लाख २३ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । गत बर्षको पहिलो ६ महिनाको तुलनामा हाल सम्म संकलित राजस्व करिब २५ प्रतिशतले बढी हो ।
सरकारले स्थानिय तथा प्रदेश तहमा राजस्व तथा राजस्वका आधारहरु हस्तान्तरण गरेर पहिलो ६ महिनामा गत बर्षको भन्दा ३० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको भएता पनि हाल सम्म सो अनुसारको हुन सकेको छैन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार फस्टाउन नसकेको कारण पुस मसान्त सम्म नेपालका मुख्य भन्सार नाकाहरुबाट लक्ष्य अनुसारको राजस्व संकनल हुन नसकेको विभागका प्रवक्ता शिव भण्डारीले जानकारी दिए ।