लेखा समितिको कामप्रति सांसदहरुले जनाए असन्तुष्टि, समिति कुनै कुरामा नचुकेको सभापतिको दाबी
काठमाडौं, ९ फागुन । संसदको लेखा समितिको कामकारवाही माथि समितिकै सदस्यहरुले असन्तुष्टि जाहेर गरेका छन् । बुधबारको समिति बैठकमा सदस्यहरुले वाइडबडी जहाज खरिद प्रकरण देखि अन्य विभिन्न खालका भ्रष्टाचार र अनियमितताका उजुरीमा समितिले प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
समितिका सदस्य हृदयश त्रिपाठीले मुलुकका हरेक क्षेत्रमा कार्टेलिङ र सिन्डीकेट भएको उजुरी प्राप्त हुँदा समितिले छानबिन गरि भ्रष्टाचार र अनियमितता गर्नेहरुलाई कारवाहीको सिफारिस गर्न नसकेको आरोप लगाए । त्यस्तै समितिका अर्का सदस्य सांसद चन्दा चौधरीले पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमको मिलोमतोमा वाइडबढी जहाजमा खरिदमा भ्रष्टाचार भएको ठोकुवा गरिन । उनले समितिले प्राप्त उजुरीमा आवश्यक अनुसन्धान गर्न नसकेकोमा असन्तुष्टि पोखिन ।
बैठकमा उपस्थीत सबै सांसदहरुले समितिका सदस्यहरुले लेखा समितिमा प्राप्त उजुरीमा सो अध्ययन गरि छानबिन र कारवाहीको सिफारिस प्रभावकारी ढङ्गबाट गर्नु पर्न आवश्यक रहेको बताए ।
सदस्य सांसदहरुले समितिको काम, कारबाहीप्रति प्रश्न उठाएपछि सभापति भरत शाहले आक्रोशित हुँदै सबै सांसदहरुलाई आफु जोगिएर अरुलाई मात्र आक्षेप नलगाउन भने । उनले समिति कुनै पनि कुरामा नचुकेको र यदि प्रमाण सहित कसैले समितिको गलत कुरा पुष्ट्याए आफुले पदबाट राजिनामा दिनुका साथै राजनीतिबाट नै सन्यास लिने बताए ।सांसदहरुलाई झपार्दै उनले भने ‘वाइडबडी जहाजमा भ्रष्टाचार भएको पुष्टी भएको छैन प्रमाण नभइ कसरी कार्वाही गर भन्ने, तथ्यमा आधारित कुरा गर्नुस् पत्रिका पढेर बैठकमा कुरा गर्ने होइन । ’
नेपाल वायुसेवा निगमले केही समय अगाडी आह्वान गरेको वाइडबडी जहाजको पाटपुर्जा खरिद टेन्डरमा समेत १ अर्ब ५३ करोड रुपैयाँ हिनामिना हुने गरि टेन्डर प्रकृया अगाडि बढाएको समितिले निमार्ण व्यवसायीले आरोप लगाए । पहिले नै आह्वान गरिएको टेन्डरलाई रद्ध गरि निगमका केही उच्चपदस्त अधिकारीहरुले आफ्नो फाइदा अनुसार पुन टेन्डर खुलाएको व्यवसायीको आरोप थियो ।