सुदूरपश्चिमको पर्यटन विकासका लागि मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता हुने
धनगढी, १९ फागुन । सुदूरपश्चिमको पर्यटन विकासका लागि मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ। आगामी चैत १ गते सुरु भएपनि फुटबल र क्रिकेट प्रतियोगिता भने फागुन २९ गतेदेखि नै सुरु हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ ।
मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले घोषणा गरेको छ । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक ल्याउने प्रदेशलाई प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिने र विजेतालाई १५, उपविजेतालाई ८ र तृतीयलाई ५ लाख पुरस्कार घोषणा गरिने छ । सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए ।
प्रतियोगितामा भलिबल, क्रिकेट र व्याडमिन्टन अन्तरगत महिला र पुरुषतर्फको खेल हुने छ भने फुटबलमा पुरुषतर्फको खेल मात्रै हुने छ । प्रतियोगितामा देशका सात वटै प्रदेशको टीम सहभागी हुने छन् । ६ सय ४४ जना खेलाडी हुने खेलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता पनि रहने छ ।