कृषि पेशामा आकर्षण बढ्दो, सरकारले घोषणा गरेको सहुलियपूर्ण कर्जा पाउन भने मुश्किल
दिलु कार्की
काठमाडौ, १९ फागुन । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १७ हटियाकी ५२ बर्षिया कमला श्रेष्ठ व्यवसायिक किसान हुन । हेटौडामा उनको ३ बिग्गा जग्गा छ । जसमा उनले १ बर्ष अगाडि देखि ३ कट्ठा जग्गामा ६ वटा टनेल भित्र गोलभेडा खेती गर्दै आएकी छन् । यसका साथै उनले १५ कट्ठा जग्गामा आलु खेती गरेकी छिन बाँकी जग्गामा भने सिजन अनुसार धान, मकै, तोरी खेती गरिरहेकी छिन ।
१ बर्ष अगाडि सम्म परम्परागत प्रणालीवाट नै कृषि गरिरहेकी उनले सरकारबाट ५ लाख रुपैयाँ कृषि अनुदान पाएपछि व्यवसायी रुपमा टनेलमा गोलभेडा खेती गर्न सुरु गरेकी हुन ।
परिवारमा उनका श्रीमान्, २ छोरा २ बुहारी र १ नाती र १ नातिनी छन् । ८ जनाको संयुक्त परिवारमा कृषि पेशा सम्हालेका भने कमला र उनको श्रीमान रणबहादुर श्रेष्ठले मात्र हो । कमलाको जेठो छोरा काठमाडौ ग्रील जडान सम्बन्धी काम गर्छन भने उनको कान्छो छोरा बैदेशीक रोजगारीमा युएई गएको २ बर्ष भइसकेको छ । कान्छी बुहारी हेटौडामै घरव्यवहार सम्हालेर बसेकी छिन् ।
उमेरले बसी खाने अवस्थामा पुगेका उनी र उनका श्रीमानमा केही गर्नु पर्छ भन्ने जोस, जागर भने युवाहरुमा भन्दा कम छैन । बैदेशीक रोजगारी र काठमाडौमा ग्रील व्यवसाय गर्ने छोराहरुको भन्दा दोब्बर कमाई छ यी दम्पतीको । उनीहरुले बार्षिक ६ लाख रुपैयाँ छ । उनले भनिन ‘हाम्रो ६ लाख आम्दानीबाट २ लाख रुपैयाँ खर्च हुन्छ २ लाख रुपैयाँ हामी कृषिमा केही गर्छु भन्नेहरुको लागी सहयोग गर्न छुट्याउ छौँ अनि २ लाख रुपैयाँ चोखो बचत हुन्छ ’।
मुलुकबाट दैनिक हजारौं युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । नेपालीहरु विदेशमा गएर कडा मेहनत गरि विभिन्न उत्पादनहरु गर्छन् । त्यही उत्पादन नेपालले महंगोमा आयात गर्ने गरिन्छ । उनीहरुले मेहनत गरेर कमाएको पैसा त्यही आयातित उत्पादन खरिदमा नै सकिने गर्छ । नेपालमा नै उत्पादन हुने सामानहरु पनि विदेशबाट आयात गरिन्छ । स्वदेशी उत्पादन बढाइ देशलाई आत्मा निर्भर बनाउन हरेक नेपालीले आ–आफ्नो तर्फबाट सकेको गर्नु पर्छ भन्ने विचार छ कमलाको ।
त्यस्तै पाल्पाका नारायणध्वज लामा र हेटौडाकै एकल महिला नविमाया अर्यालको पनि कृषिबाट प्राप्त सफलताको कथा प्रेरणदायी छ । विदेशमा गर्ने जति मेहनत र पसिना स्वदेशी भुमिमा बगाउने हो भने त्यहाँको भन्दा दोब्बर आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरण पनि हुन यिनीहरु ।
अर्यालले पनि श्रीमानको निधन पछि विगत ५ वर्ष देखि गाई र बाख्रा पालन गरिरहेकी छिन् । उनी आफ्नो व्यवसायलाई अझ विस्तार गर्न चाहन्छिन् तर पुँजीको अभाव भोगिरहेकी छिन् । पाल्पाका नायारणध्वजले भने परम्परागत रुपमै भएपनि कृषि गरिरहेका छन् । सरकारले दिने अनुदान नपाउदा परम्परागत प्रणालीबाटै खेती गर्न बाध्य छन् ।
नेपालका नारायणध्वज र नविमाया जस्ता सयौ किसान छन् । जो व्यवसायीक खेती गर्ने तीब्र इच्छा हुदाँ हुदै पनि पुँजी र प्रविधिको अभावमा संकुचित हुन परेको छ। त्यस्तै कतिपय भने आफ्नो उत्पादनको उचित बजार मुल्य नपाएर पनि निराश बन्न बाध्य छन् । धेरै लगानी र परिश्रम गरेर किसानहरुले उत्पादन गर्ने गरेका भएपनि बजारको अभाव उत्पादनले उचित मुल्य नपाउदाँ कृषि पेशाबाट पलायन भएका थुप्रै दृष्टानत्हरु छन् ।
राज्यले किसानको लागि छुट्याएको अनुदान रकम किसानले नपाएर पहुँचवाला व्यक्तिहरुले मात्र उपयोग गर्ने गरेको गुनासो किसानहरुको छ । कमला श्रेष्ठले पनि गोलभेडा खेती गर्न पाएको सरकारी अनुदान लिन धेरै बर्ष सरकारी कार्यालय धाउनु परेको थियो । कृषिमा केही गर्न खोज्दा लगानीकै अभावका कारण युवाहरु विदेश पलायन भएको श्रेष्ठको भनाई छ ।
उसो त सरकारको निर्देशनमा राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई कृषिमा अनिवार्य लगानी गर्न निर्देशन दिएको छ । बैंकहरुमा किसानहरु कृषि कर्जा लिन जाँदा धितोको मूल्यांकन अनुसार कर्जा प्रवाह पर्ने भन्दै धेरै किसानहरुलाई बैंकहरुले कर्जा नदिएको गुनासो किसानहरुले गरेका छन् । राष्ट्र बैंकले ५ प्रतिशतमा कृषि कर्जा वितरण गर्ने निर्देशन बाणिज्य बैंकहरुलाई दिएको भएता पनि हेटौडाका किसानहरुले हाल राष्ट्रिय वाणिज्य बैंक र कृषि बिकास बैंकबाट १४ प्रतिशतमा नै कर्जा लिइरहेको गुनासो छ ।
तर बैंकहरुले नपत्याएपनि हाल हेटौडा हटियाका महिलाहरु आफै एकजुट भएर कृषि क्षेत्रमा संलग्न हुन चाहनेहरुका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । कमला श्रेष्ठको नेतृत्वमा हाल हटियाका ७ सय जना महिलाहरुले साना किसान हटिया सहकारी संस्था स्थापना गरेका छन् । संस्थाका १ करोड रुपैयाँ पुँजी जम्मा भइसकेको छ । सस्थाले प्रति सदस्य १ पटक ६० हजार सम्म १४ प्रतिशत ब्याजदरमा कर्जा सहयोग गर्ने गरेको छ । संस्थाबाट कर्जा लिएर नै २ सय सदस्यहरुले कृषि व्यवसाय गरिसकेका छन् । ३ सय जना सदस्यहरुले संस्थाबाट सहयोग लिएर व्यवसाय संचालनको प्रक्रियामा छन् । सदस्यहरुको बचतबाट नै कर्जा सहयोग गर्दै आएको संस्थाले आगामी दिनमा भने बैंकहरबाट कर्जा सापटी लिएर ३ लाख रुपैयाँ सम्म कर्जा सहयोग गर्ने योजना बनाएको संस्थाको अध्यक्ष समेत रहेकी कमला श्रेष्ठले बताईन् ।