Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पुरानो बसपार्कको भ्युटावर निर्माण कार्य सुस्त, महानगरले अवलोकन गर्न स्वतन्त्र इन्जिनियर नियुक्त गर्ने

पुरानो बसपार्कको भ्युटावर निर्माण कार्य सुस्त, महानगरले अवलोकन गर्न स्वतन्त्र इन्जिनियर नियुक्त गर्ने

बलराम बुढाथोकी
काठमाडौं ३, चैत । पुरानो बसपार्कमा बन्न लागेको २२ तले काठमाडौं भ्युटावर निर्माण कार्यले गति लिन सकेको छैन् । काठमाडौं महानगरपालिकाले ५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने सर्तमा वि.सं. २०७२ सालमा जलेश्वर, स्वच्छन्द र बिकाई कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । तर निर्माण कम्पनीले सम्झौता गरे अनुुसार समयमा काम सम्पन्न गर्न नसक्ला जस्तो लागेर महानगरले स्वतन्त्र इन्जिनियरहरुको समुह नियुक्ति गर्ने भएको छ ।

इन्जिनियरहरुको नियुक्ति गरेसँगै उनीहरुले निर्माण कार्यको अध्ययन र अनुगमन गर्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले अर्थको अर्थलाई जानकारी दिए । हालै बसेको महानगरको बैठकले चैत भित्रमा इन्जिनियरको नियुक्ति गर्ने निर्णय गरेको छ ।

इन्जिनियरहरुले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अनुुसार कम्पनीले समयमा काम सक्छ कि सक्दैन भनेर जानकारी गराउँन मिल्ने डंगोलले बताए । उनले भने–‘हालै बसेको महानगरको कार्यपालिका बैठकले भ्युटावर निर्माणमा अब कति समय लाग्छ भनेर स्वतन्त्र इन्जिजियरको नियुक्ति गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब चैत भित्रमा हामीले इन्जिनियरको नियुक्ति गर्ने छौं । त्यस पश्चात भ्युटावर निर्माण सम्पन्न कहिले हुन्छ भन्ने बारे थाहा हुन्छ ।’

महानगरसँग भएको सम्झौता अनुरुप कम्पनीले समयमा निर्माण कार्य सम्पन्न गर्ननसके महानगरले जरिवाना तोक्ने वा अर्काे कम्पनीलाई निर्माणको जिम्मा दिने भनेर निर्णय गर्ने पनि डंगोलले जानकारी गराए । तर निर्माण पक्षले भने समयमा नै काम सक्ने जानकारी दिएको छ । भ्यु टावर निर्माणका प्रतिनिधि मनोजकुमार भेटवालका अनुसार भ्युटावरको निर्माण अबको दुई वर्षमा सम्पन्न हुने अर्थको अर्थलाई जानकारी दिए ।

प्रविधिक समस्याले गर्दा केही समय अलमल्याएको भएपनि अब भ्युटावरको काम द्रुत गतिमा अगाडी बढ्ने उनको भनाइ छ । जमिन मुनिको संरचना निर्माण कार्य सकिएको र अब जमिन माथिको संरचना निर्माण गर्न थालिएको पनि उनले जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x