वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण : अख्तियारले पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलायो
काठमाडौं, ६ बैशाख । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच वटा विदेशी कम्पनीलाई बयानका लागि बोलाएको छ। आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकाको एएआर इन्टरनेशनल, जर्मनीको एभिएन क्यापिटल जीएमबीएम, जर्मनीकै नर्टन रोज र पोर्चुगलको हाइफ्लाई इन्टरनेशनल आयोगले दोस्रो पटक बोलाएको हो ।
ती कम्पनीलाई आगामी बिहिबार भित्र उपस्थित हुन अख्तियारले समयसिमा दिएको छ। संसद्को सार्वजनिक लेखासमितिले उक्त प्रकरणमा ४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गरेको छ ।
अख्तियारले यसअघि स्वदेशका डेढ दर्जन सरोकारवालाहरूसँग बयान लिइसकेको छ । निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्न अमेरिकाको एएआर इन्टरनेशनलसँग सम्झौता गरेको थियो । एएआरले पछि आफूसँग अन्य कम्पनी पनि साझेदार रहे उल्लेख गरेपछि शंका उत्पन्न भएको छ । सोही कारण अख्तियारले एएआरका साझेदार भनिएका सबै कम्पनीलाई बोलाएको हो ।