अनलाईनबाटै घरजग्गा खरिदबिक्री गर्न सकिने
काठमाडौं, १७ जेठ । घरजग्गा कारोबारलाई सहज र व्यवस्थित बनाउन नेपाल रियल स्टेट अर्गनाईजेशन (एन–रियो)को स्थापना गरिएको छ । घरजग्गा खरिदबिक्री गर्ने एजेन्ट र एजेन्सीहरुलाई एकबद्ध गरी अनलाईनबाट नै मन परेको घर र जग्गा छनोट गरी किनबेचको वातवारण निर्माणका लागि यस्तो गरिएको जनाइएको छ।
देशमा घरजग्गा कारोबारमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएकोले यसलाई रोक्न यो अनलाईन प्रणालीको सुरुवात गरिएको जनाइएको छ । त्यस्तै देशभरका घरजग्गाको वास्तविक मूल्य पत्ता लगाउनका लागि नयाँ संस्था संचालनमा ल्याउनु परेको एन–रियोका अध्यक्ष नरेश सिंहले जानकारी दिए । संंस्थाले घरजग्गा खरिदकर्ता तथा बिक्रीकर्तालाई वास्तविक मूल्य थाहा दिन र घर जग्गा कारोबारलाई व्यवस्थित गरी सहजिकरण गर्नका लागि मल्टी लिस्टिङ सिस्टम (एमएलएस) तयार गरिएको जानकारी दिएको छ ।
उक्त सिस्टममा ब्रोकरले कुनै पनि व्यक्तिले बिक्री गर्न लागेको घरजग्गाको बास्तविक मूल्य सहित राख्ने छ भने सोही आधारमा कुनै पनि व्यक्तिले संस्थामा आवद्ध भएका एजेन्ट र एजेन्सी मार्फत खरिद गर्न सक्ने छ । एमएलएस सिस्टममा उक्त संस्थामा आवद्ध भएका सबै ब्रोकरहरुले बिक्रीका लागि आएका घरजग्गाको विवरण अपलोड गर्न सक्नेछन् ।