श्रमका क्षेत्रमा कानूनी र नीतिगत सुधार गरिएको छ – प्रधानमन्त्री
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम क्षेत्र थप सुरक्षित ब्यवस्थित बनाउदै लगिएको सन्देश विश्व समुदायलाई दिएका छन् । विश्व श्रम सङ्गठन(आइएलओ)को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले श्रमलाई संवोधन गर्न दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताएका हुन ।
संवोधनका क्रममा प्रधानमन्त्री ओलीले आइएलओका मौलिक उपकरणलाई पक्ष राष्ट्रको नाताले नेपालमा पनि लागू गरिएको जानकारी दिए । नेपालका सङ्गठित अथवा अनौपचारिक क्षेत्रका जुनसुकै श्रमिक भए पनि विभेद नगरेकोबताउँदै प्रधानमन्त्री ओलीले कामदारहरुको जुनसुकै कामको प्रकृति भए पनि उनीहरुलाई सामाजिक सुरक्षा दिइएको र अनौपचारिक क्षेत्रलाई औपचारिक प्रक्रियामा लगिएको जानाकरी दिए । नेपालको प्रजातान्त्रिक संविधान समानता, विभेदरहित र सामाजिक न्यायमा आधारित रहेको तथा प्रत्येक व्यक्तिलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रबाट सशक्त तुल्याइएको बताउँदै उनले श्रम क्षेत्रमा पनि थुप्रै कानून लागू गरिएको जानाकारी गराए ।
सन् १९१९ मा स्थापना भएको आइएलओको सम्मेलनमा यसका १८७ सदस्य राष्ट्रका झण्डै छ हजार जनाको प्रतिनिधित्व छ । प्रधानमन्त्रीको नेतृत्वमा नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै निजी क्षेत्र पनि टोलीमा छ । उच्चस्तरीय प्रतिनिधिमण्डलमा रोजगारदाताका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी छ । कार्यक्रममा नेपालका सरकारी अधिकारीसहित महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल र महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।