विभिन्न मन्त्रालयको खर्च कटौतीका लागि पाँच प्रस्ताव
काठमाडौं, २ असार । विनियोजन विधेयक, २०७६ को विभिन्न शिर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र गृह मन्त्रालय अन्तर्गत पाँच वटा खर्च कटौतीको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ । सांसद मीनबहादुर विश्वकर्माले विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
त्यस्तै, सांसद बहादुरसिंह लामा तामाङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भ्रमण भत्तालाई दुई शिर्षक बनाइएको, सिप विकास तालिम भनेर कार्यकर्ता पोस्ने योजना रहेकाले सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक गर्न प्रस्ताव गरिएको बताए । सांसद प्रेम सुवालले विज्ञापनमार्फत् राजनीतिक दलको चुनाव प्रचारप्रसार गर्ने व्यवस्था नगर्ने व्यवस्था हुनुपर्ने, पत्रिका वर्गिकरणमा भइरहेको विभेद् अन्त्य गरिनुपर्ने माग गरे । सांसद सुवालले आपूर्ति तथा सञ्चार मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ रु एक, परराष्ट्र र गृह मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।