साढे नौ लाखले चालक अनुमतिपत्र पाएनन्

काठमाडौं, ३ असार । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् ।
सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्रको क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।
विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरिरहेको विभागले जनाएको छ। एउटा उपकरणको क्षमता दैनिक २ हजार ५ सय देखि ३ हजार वटासम्म छपाइ गर्ने रहेको छ । एक दिनमा बढीमा १८ हजारसम्म छपाइ गर्ने विभागले जनाउँदै यही गतिमा छपाइ गर्दा यहाँ छाप्न बाँकी रहेको लाखौँ चालक अनुमतिपत्र छाप्न नसकिने जनाएको छ। रासस