टान १ करोड घाटामा, कार्यकालको अन्तिम घडीमा ऋण मुक्त गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
काठमाडौं, ६ साउन । पदयात्रा व्यवसायीहरुको छाटा संगठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) अहिले १ करोड रुपैयाँ भन्दा बढी घाटामा छ । अघिल्लो कार्यकालका नेतृत्वहरुले गरेको गल्तिले टान टाट पल्टने स्थितिमा पुगेको जानकारहरु बताउछन् । उनीहरुका अनुसार नेतृत्वले सवलरुपमा संस्थाका लागि काम नगरेकोले टानको यो अवस्था आएको विश्लेषण गरिएको छ ।
तर, हाल अन्तिम चरणमा आईपुगेका अध्यक्ष नवराज दाहाले आफ्नै कार्यकाल भित्र नै टानलाई ऋणमुक्त गर्ने बताएका छन् । उनले अर्थको अर्थसँग कुरा गर्दै विगतका दिनमा डामाडोल स्थितिमा पुगेको टानलाई आफ्नो कार्यकालमा सुधारको काम गरेको दाबी गरे । आफु अध्यक्षमा निर्वाचित हुँदा टानको ऋण २ करोडभन्दा बढी भएको र त्यसलाई आफ्नो कार्यकालमा घटाउन सफल भएको उनको भनाई छ । उनले भने–‘मेरो कार्यकाल करिव डेढ महिना बाँकी छ । त्यो समयसम्म म टानलाई ऋण मुक्त गरेर छाड्ने छु ।’
त्यस्तै नेपाल पर्यटन बोर्डले दिईदैँ आएको पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) वापतको रकम ५ वर्षदेखि रोक्का छ । २ वर्षे कार्यकाल मध्ये २२ महिना त्यसको समाधान खोज्न नसकेका अध्यक्ष दाहालले कार्यकालको अन्तिम घडिमा आएर त्यसको समाधान गरेरै छोड्ने प्रतिवद्धता पुन जनाएका छन् । उनी भन्छन्–‘टिम्स वापतको रकम पर्यटन बोर्डले रोक्का गरेको ५ वर्ष वितेको छ । त्यसको समाधान मेरै कार्यकालमा समाधान गरेर टानबाट बाहिरिने छु ।’
कतिपय पर्यटन व्यवसायीहरुले दाहालको कार्यकाल केही मात्रामा सुधारको काम गर्न खोलिएको भएपनि अपेक्षा अनुरुपका काम हुन नसकोको बताए ।