सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम दिन प्रतिदिन घट्दै
काठमाडौं, १४ साउन । केही दिन यता सेयर बजारमा लगानीकर्ताको उत्साह घट्दै गएको छ । सेयर बजारको परिसूचक नेप्सेमा केहि सुधार देखिएको भएपनि कारोबार रकममा दिन प्रतिदिन गिरावट हुँदै आएको छ । मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन ५५ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा त्यसपश्चातका दिनहरुमा कारोबार रकममा गिरावट आउन थालेको हो ।
साताको पहिलो कारोबार दिन आईतबार ४९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा सोमबार १४ करोड रुपैयाँले गिरावट आई ३५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
त्यस्तै साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सेयर कारोबार रकममा हिजोभन्दा करिव ९ करोड रुपैयाँले गिरावट आएको छ । आज १ सय ७१ कम्पनीको ९ लाख ४० हजार ९ सय ८१ कित्ता सेयर २६ करोड ७७ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । तर, सेयर कारोबार नेप्सेमा २.७९ अंकले सुधार भई १२५८.७८ विन्दु्मा बन्द भएको छ ।
त्यसैगरी सबैभन्दा बढी सेयर कारोबार सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । उक्त बैंकको ३ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । आज नेप्सेमा सूचिकृत १२ समूहमध्ये ४ समूहको परिसूचकमा गिरावट आएको छ भने अन्य समूहहरुको परिसूचकमा सुधार आएको छ । परिसूचक गिरावट आउनेमा टेण्डिङ समूह १.२९ प्रतिशत, फाईनान्स समूह ०.२१ प्रतिशत, अन्य समूह ०.१७ प्रतिशत र म्युचियल फण्ड ०.१९ प्रतिशत रहेका छन् ।