सेयर बजार सुधारको संकेत, आज ६.२० अंकले बढ्यो
काठमाडौं, १५ साउन । पछिल्लो केही दिन यता सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । साताको पहिलो कारोबार दिन आईतबार १७.११ अंकले गिरावट आएपनि त्यसयता बजारमा सुधारको संकेत देखिएको छ।
सोमबार र मंगलबार झिनो अंकले सुधार भएको सेयर बजारमा साताको चौथो कारोबार दिन बुधबार (आज) ६.२० अंकले सुधार भई १२६५.५७ विन्दुमा रोकिएको छ । १ सय ६९ कम्पनीको १३ लाख ६ हजार ७ सय ५६ कित्ता सेयर ३७ करोड रुपैयाँमा खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार गर्नेको उच्च पंक्तिमा नेपाल बैंक लिमिटेडको रहेको छ । उक्त बैंकले आज २ करोड ८५ लाख रुपैयाँको सेयर कारोकार गरेको छ । त्यस्तै बढी सेयर कारोबार गर्ने दोस्रो पंक्तिमा कृषि विकास बैंक लिमिटेड रहेको छ । उक्त बैंकको पनि २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै नेप्सेमा सूचिकृत १२ समूहमध्ये ११ समूहको उपसूचकमा हरियाली छाएको छ भने विकास बैंक समूहको उपसूचकमा ०.८४ अंकले गिरावट आएको छ ।
बजार सुधारका लागि बाधकको रुपमा रहेको भारित औसत लागतबाट पुँजीगत लाभकर गणना विवाद पनि आजबाट हल भएको छ। यसबाट लगानीकर्ताले ठुलो राहतको महसुश गरेका छन् । त्यसको प्रभाव पनि आगामी दिनमा बजारमा पर्ने अनुमान गरिएको छ।