नेपाल वायुसेवा निगमको सुधारका लागि कार्यदल गठन
काठमाडौं, २२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगमको सुधारका लागि कार्यदल गठन गरेको छ । आज बसेको मन्त्रीस्तरीय निर्णयबाट पूर्वसचिव सुशिल घिमिरेको संयोजकत्वमा सुधार कार्यदल गठन गरेको हो ।
कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई रहेका छन् । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई कार्यदलको सदस्य सचिव तोकिएको छ। कार्यदलले एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न भनिएको छ ।