Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

आफ्नो प्रदेशमा लगानी गर्न मुख्यमन्त्रीहरुको आग्रह, कर छुटको सुविधा दिने प्रतिवद्धता

आफ्नो प्रदेशमा लगानी गर्न मुख्यमन्त्रीहरुको आग्रह, कर छुटको  सुविधा दिने प्रतिवद्धता

काठमाडौं,२६ भदौ ।  नेपाल पुर्वाधार सम्मेलनको पहिलो दिन ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट पुर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । उहाहरुले लगानीका लागि आवस्यक सम्पूर्ण नीति नियम र पुर्वाधारको विकास गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । गण्डकीबाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरुले एउटै मञ्चबाट यस्तो प्रतिबद्धता जनाउनु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा कृषि, पुर्वाधार, ऊर्जा, औद्योगिक क्षेत्र, स्याटेलाइट सीटी, स्मार्ट सीटी, अन्तरराष्ट्रिय सभाहल, पदमाग, केवलकार लगायतका पुर्वाधार निर्माण गर्ने बताउनुभयो । उहाँले प्रदेश १ का गेमचेञ्जर आयोजनाहरु पहिचान भइसकेको र त्यस्ता परियोजना कार्यान्वयनका लागि अन्तरराष्ट्रि संघसंस्था र लगानीकर्तालाई ती आयोजनामा लगानी गर्न आग्रह गर्नुभयो । आफ्नो प्रदेशले औद्योगिक पार्क निर्माणका लागि ८६०० विगाहा जमीन तयारी अवस्थामा राखेको र यसलाई चाँडै नै लगानीका लागि खुला गरिसकेको बताउनुभयो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतले निजी क्षेत्रको लगानी बिना मुलुकको विकास असम्भव रहेको बताउनुभयो । उहाँले प्रदेश २ मा विविध उल्झनका कारणले विकास हुन नसकेको र त्यस्ता कमीकमजोरी प्रदेश सरकारले पहिचान गरिसकेको भन्दै उहाँले त्यस्ता समस्या सम्बोधन गर्नेगरी भावि योजना र कार्यक्रम तयार पारिरहेको बताउनुभयो । उहाँले उद्योग, पर्यटन र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको र सोही अनुसार नीति नियम तर्जुमा गर्ने तयारी भइरहेको बताउनुभयो । ३ घण्टाभित्र उद्योग दर्ता गरिसक्नेगरी कानून ल्याउन अन्तिम तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । आफ्नो प्रदेशको विकासका लागि केन्द्र र स्थानीय तहसँग सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनु भयो । उहाँले औद्योगिक प्रतिष्ठानहरुलाई २० वर्षसम्म कर छुट दिने बताउनुभयो ।

त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो प्रदेशमा निजी क्षेत्रको लगानीका लागि सबैकुरा सुधार गर्न आफू तयार रहेको बताउनुभयो । प्रदेश ३ ले उद्योग, कृषि, विद्युत् लगायतका क्षेत्रमा जोड दिएकाले यसैअनुसार नीतिनियम तर्जुमा गरिसकेको जानकारी दिनुभयो । प्रदेश ३ सार्वजनिक निजी साझेदारीमा परियोजना निर्माण गर्न तयार रहेको र यसमा सहकारी संस्थाहरुलाई समेत सँगसँगै लान आफूहरुले नियम बनाउन लागेको जानकारी दिनुभयो । त्यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रलाई आकर्षित गर्न कानूनी सुधारको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । अवको ३ वर्षभित्रमा प्रदेश ५ मा ७५० अर्बको निजी लगानी हुने अपेक्षा गरेको भन्दै उहाँले त्यसका लागि प्रदेश स्तरमा समेत लगानी सम्मेलन गर्ने योजना सुनाउनुभयो । उहाँले आफ्नो प्रदेशमा १५०० विगाहा जमीन औद्योगिक पार्कका लागि तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । प्रदेश ५ सरकारले औद्योगिक क्षेत्र, कृषि, पर्यटनमा जोड दिएको भन्दै उहाँले आफ्नो प्रदेशको समृेद्धिको आधार पनि यसैलाई राखेको बताउनुभयो । यो प्रदेशलाई सूचना प्रविधिको हब बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्र आकर्षित गर्न आफूहरुले कानून बनाइरहेको र आफ्नो प्रदेशमा लगानीगर्न आउने बताउनुभयो । उहाँले आफ्नो प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताउनुभयो । उहाँले कृषिजन्य उत्पादन, फलफूल, माछापालन र जडिबुटीजस्ता क्षेत्रमा आफ्नो प्रदेश अब्बल रहेको भन्दै यिनै उत्पादनलाई प्रबद्धृन गर्ने योजना बनाइरहेको उहाँले बताउनुभयो । उहाँले सडक मार्गमा पहूँच कम भएका कारण सुर्खेतलाई अन्तरराष्ट्रिय स्तरको विमानस्थल बनाउन गुरुयोजना बनाउने तयारीमा रहेको बताउनुभयो ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँदै निर्यातजन्य उद्योग खोल्न लगानीकर्तालाई आग्रह गर्नुभयो । जलस्रोतको प्रचूर सम्भावना भएको प्रदेश भएकाले जलस्रोतमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो । जडीबुटीको ठूलो उत्पादन हुने भएकाले औषधि कम्पनी खोल्नका लागि समेत उहाँले लगानीकर्तालाई आग्रह गर्नुभयो । यसका लागि आफ्नो प्रदेशले जग्गा, कानूनी र सुरक्षाको प्रत्याभूति सरकारले गर्ने जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x