आजदेखि सातै प्रदेशमा फोरजी सेवा
काठमाडौं, १५ असोज । नेपाल टेलिकमले महत्त्वकांक्षी फोरजी सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ औपचारिक रूपमा शुभारम्भ गर्दैछन् ।
यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी लगायतमा फोरजी सेवा सञ्चालन हुनेछ । त्यस्तै महोत्तरी, रुकुम, बागलुङ, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, कैलाली, कपिलवस्तुका सदरमुकाममा पनि फोरजी सेवा सुरु हुने छ।
मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा छ ।