निजी आवास पुनर्निर्माणका लागि कात्तिक मसान्तभित्र दोस्रो किस्ताको रकम लिनुपर्ने
काठमाडौं, २ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीलाई कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता अनुदान लिन आग्रह गरेको छ । ०७५ असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ जनाले दोस्रो र ५ लाख ७ जार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् । सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने छ।