Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आयात घट्दा राजस्वमा असर

आयात घट्दा राजस्वमा असर

काठमाडौं, ५ कार्तिक । चालु आर्थिक वर्षको सुरुवातदेखि नै आयात घट्न थालेको छ । घट्दो आयातको असर राजस्व संकलनमा समेत परेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले २ खर्ब ५२ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा एक खर्ब ९८ अर्ब रुपैयाँमात्र राजस्व संकलन भएको अर्थ मन्त्रालय राजस्व महाशाखाले जनाएको छ । आयातबाट कुल राजस्वको ४४ प्रतिशत कर भन्सार नाकामा संकलन हुन्छ । आयातीत वस्तुको भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिवृद्धिकर घट्दा समग्र राजस्व संकलनमा असर परेको हो । विगत वर्षहरुमा आयात तीव्र रुपले बढ्दा राजस्वको लक्ष्य सहजै हासिल हुँदै आएको थियो ।
सरकारले व्यापारघाटा न्यूनीकरण रणनीति लागू गरेर विलासी वस्तुको आयातलाई निरुत्साहन र निर्यातलाई प्रोत्साहन गर्दै आएको छ । जसका कारण चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात २५.८७ प्रतिशतले विस्तार भएको छ भने निर्यात १.२२ प्रतिशतले ऋणात्मक वृद्धि रहेको भन्सार विभागले जनाएको छ ।
सरकारले भने पुस मसान्तमा आयकरको पहिलो किस्ता अर्थात् कुल आयकरको ४० प्रतिशत दाखिला हुने भएकाले दोस्रो त्रैमासबाट राजस्व संकलन लक्ष्य अनुसार नै रहने बताएको छ । आर्थिक वर्षका सुरुवानी महिनाको तुलनामा दोस्रो त्रैमासबाट राजस्व संकलनमा वृद्धि हुने गरेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भन्सार महशुलबाट बाट ५९ अर्ब ७६ करोडको लक्ष्यमा ३९ अर्ब ८ करोड संकलन भएको छ । यसले आयात घट्दा राजस्व संकलनमा गहिरो असर पार्ने गरेको प्रष्ट हुन्छ ।
त्यस्तै, अन्य मुख्य करहरुमध्ये, मूल्य अभिवृद्धि करतर्फ ८४ अर्ब १३ करोड रुपैयाँको लक्ष्यमा ६४ अर्ब ३९ करोड रुपैयाँ संकलन भएको छ । अन्तःशुल्कतर्फ ४२ अर्ब २७ करोड रुपैयाँको लक्ष्यमध्ये ३२ अर्ब ९० करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । आयकरतर्फ ३९ अर्ब ३० करोडको लक्ष्यमध्ये ३४ अर्ब ९४ करोड रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा करतर्फ ३६ करोड १३ लाखको लक्ष्यमा २२ करोड ७७ लाख रुपैयाँ संकलन भएको छ । अन्य करतर्फ ५ अर्ब ८९ करोड संकलन हुने अनुमान गरिएकोमा ५ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको छ । कर राजस्वमा लक्ष्य र असुलीबीच गहिरो अन्तर देखिए पनि गैर कर राजस्वले भने लक्ष्य पछ्याएको छ । पहिलो त्रैमासमा २० अर्ब ६६ करोड गैर कर राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २० अर्ब ४६ करोड रुपैयाँ संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x