Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सेयर कसरी छनोट गर्ने !

सेयर कसरी छनोट गर्ने !

काठमाडौं, २३ कात्तिक । लामो समय देखि नकारात्मक हुँदै आएको सेयर गत साता पनि निरन्तर रुपमा घट्ने क्रममा रह्यो । साताका सबै दिन बजार परिसूचक ओरालो गर्दा लगानीकर्ता थप चिन्तित छन् । गत साता अधिकांश कम्पनीले आकर्षण लाभांश घोषणा गरेका छन् । यद्यपी लगानीकर्ता भने बजार प्रति विश्वस्त हुन नसकेको देखिन्छ ।

बजार निरन्तर रुपमा ओरालो लाग्दा लगानीकर्तामा अन्यौलता देखिए पनि यो समय भने लगानी गर्ने उचित समय भएको शेयर विश्लेषकहरु बताउँछन् । यति बेला राम्रा कम्पनीका शेयरमूल्य पनि घटेका छन् । त्यसैले नयाँ लगानीकर्ताहरुलाई बजार प्रवेश गर्ने उपयुक्त समय पनि हो । तर, सेयर बजारमा प्रवेश गर्नु अघि भने बजारको बिषयमा अध्ययन गर्नु जरुरी छ । बजारको उतारचढावको चक्र, मुलुकको वित्तीय अवस्था, खरिद गर्ने कम्पनीको वित्तीय अवस्थाको बिषयमा राम्ररी अध्ययन गरी प्रवेश गरेको खण्डमा कुनै पनि अवस्थामा बजारबाट घाटा व्यहोर्नु नपर्ने विश्लेषकहरुको दाबी छ ।

सेयर बजार अति संवेदनशिल हुन्छ । सानो हल्लाले पनि बजारलाई प्रभावित हुन्छ । त्यसैले सहि सुचनाको आफैले खोजी गरेर बजारमा लगानी गर्नुपर्ने लगानीकर्ता मेघनाथ कुँवरको अनुभव छ ।
अधिकांश लगानीकर्ता अधिक मूल्य भएका कम्पनीका सेयर राम्रो र कम मूल्य भएका कम्पनीका शेयर नराम्रो भन्ने सोच छ । तर, यो गलत भएको विश्लेषकहरुको दाबी छ । कम्पनीको वित्तिय सुचक र व्यवस्थापन हेरेर कम्पनी छनौट गरे घाटा खानु पर्दैन ।

यदि यतिबेला तपाईमा पनि बजारमा प्रवेश गर्नु सोच बनाउँनु भएको छ भने तपाई उचित समयमा हुनुहुन्छ । तर, बजार प्रवेश गर्नुपूर्व निम्न सुचकहरुको अध्ययन गर्नु आवश्यक छ ।

लाभांशको इतिहास

कुनै पनि कम्पनीको सेयर खरिद गर्दा कम्पनीले वितरण गर्ने लाभांशको इतिहास हेर्नुपर्छ । कम्तिमा पनि कम्पनीले विगत ५ बर्षको अवधिको लाभांको अवस्थाको अध्ययन गर्नुपर्छ । कम्पनीले विगत पाँच बर्षमा निरन्तर रुपमा लाभांश लाभांश वितरण गरेको कम्पनीमा छनोट गर्नुपर्छ । कतिपय कम्पनीले केही बर्ष लाभांश दिदैनन् । कुनै बर्ष भने राम्रो लाभांश वितरण गर्छन् । यस्ता कम्पनी लामो अवधिको लगानीका लागी उपयुक्त हुँदैन । किनभने अर्को बर्ष उक्त कम्पनीले लाभांश दिन नगर्न पनि सक्छ । त्यसैले लगानी गर्दा निरन्तर रुपमा लाभांश वितरण गरेको कम्पनी छनौट गर्नुपर्छ ।

मूल्य आम्दानी अनुपात
कम्पनीको मूल्य र आम्दानीको अनुपातले कम्पनीको वित्तिय अवस्थालाई प्रतिबिम्बित गर्छ । कम्पनीको बजारमूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउँने भागफल नै मूल्य आम्दानी अनुपात हो । अर्थात् कम्पनीको बास्तविक प्रति कित्ता सेयर आम्दानी भन्दा बारमूल्य कति गुणाले धेरै वा थोरै छ भन्ने कुरा मूल्य आम्दानी अनुपातले देखाउँछ । जस्तै, कुनै कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ छ र कम्पनीको बजारमूल्य ५०० रुपैयाँ छ भने कम्पनीको मूल्य आम्दानी अनुपात ५० हुन आउँछ । यसले उक्त कम्पनीको सेयरमूल्य बास्तविक मूल्य भन्दा ५० गुणा बढीमा बजारमा खरिद विक्री भएको देखाउँछ । यसले कम्पनीको सेयरमूल्य ओभरभ्यालूड छ भन्ने बुझाउँछ । सामान्यतया मूल्य आम्दानी अनुपात १० देखि २० गुणा बढीसम्म भएको राम्रो मानिन्छ । त्यो भन्दा बढी मूल्य आम्दानी अनुपात भएको कम्पनीमा लगानी गर्नु जोखिमपूण मानिन्छ । १० गुणा भन्दा कम भएपनि लगानी गर्नु त्यति उपयुक्त हुँदैन । किनभने १० गुणा भन्दा कम भएमा पनि कम्पनीको अवस्थामा केही गडबढ भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

आम्दानीको स्रोत
कम्पनीको वित्तिय अवस्था राम्रो छ कि छैन भनेर देखाउँने अर्को मुख्य सुचकमध्ये आम्दानीको स्रोत पनि एक हो । बैक तथा वित्तिय संस्थाको हकमा ब्याज आम्दानी, बिमा कम्पनीको हकमा बिमाशुल्क आर्जन र जलविद्युत कम्पनीको हकमा विद्युत विक्री आम्दानी मुख्य स्रोत हुन् । यस्तो आम्दानी निरन्तर रुपमा बढेको छ छैन भनेर अध्ययन गर्नुपर्छ । कम्पनी छनौट गर्दा विगत पाँच बर्षमा कम्पनीको आम्दानीको स्रोत तुलनात्मक रुपमा बढेको कम्पनी गर्नुपर्छ ।

किताबी मूल्य
कम्पनीको सम्पतिबाट दायित्व घटाए पछि आउँने अंक नै किताबी मूल्य अर्थात् नेटवर्थ पर सेयर हो । यो भनेको कम्पनीले आफनो वित्तिय विवरणको लेखापरिक्षण पछि तोकेको कम्पनीको सेयरको बास्तविक मूल्य हो । तर, बजारमा कम्पनीको सेयरमूल्य त्यो भन्दा बढी वा घटी हुन सक्छ । त्यसैले बास्तविक मूल्य भन्दा तपाई कती रकम बढी भुक्तानी गर्न तयार हुनुहुन्छ भन्ने कुरा तपाईले निर्णय गर्न सक्नुहुन्छ । तर, यदि कम्पनीको किताबी मूल्य १५० छ र बजारमूल्य ५०० रुपैयाँ छ भने पनि तत्काल कम्पनी खारेजी हुने अवस्थामा पुगेको खण्डमा कम्पनीले तपाईलाई प्रति कित्ता सेयर भुक्तानी गर्ने भनेको १५० रुपैयाँ नै हो । त्यसैले कति रकमसम्म बढी भुक्तानी गर्ने भन्ने निर्णय आफैले गर्न सकिन्छ । तर, १०० भन्दा कम किताबी मूल्य भएको सेयर भने खरिद गर्नु उपयुक्त हुँदैन ।

जगेडा कोष
कम्पनीको जगेडा कोष जति धेरै भयो त्यति नै कम्पनी बलियो भएको जनाउँछ । त्यसैले कम्पनीको सेयर खरिद गर्नु अघि जगेडाका कोष हेर्नुपर्छ । कम्पनीको जगेडा कोष बढेको छ छैन हेर्नुपर्छ । लगानी गर्दा जगेडा कोष निरन्तर रुपमा बढेको कम्पनीको सेयर छनौट गर्नुपर्छ । त्यस्तै, जगेडा कोष नकरात्मक भएका कम्पनीमा लगानी गर्नुहुँदैन ।

प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानीले कम्पनीको वितरण गर्ने लाभांशको अनुमान गर्न सकिन्छ । तर, जीवन बिमा कम्पनीको हकमा भने विमांकी मूल्यांकन पछिको तथ्यांक मात्रै विश्वसनीय हुन्छ । प्रतिसेयर आम्दानी भनेको कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी हो । कम्पनीको खुद नाफालाई कम्पनीको सेयर संख्याले भाग गर्दा आउँने भागफल नै प्रतिसेयर आम्दानी हो । जस्तै, कुनै कम्पनीको एक बर्षको आम्दानी १ हजार रुपैयाँ छ र कम्पनीको सेयर संख्या १०० भने कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी भनेको १० रुपैयाँ हुन आउँछ । उक्त आम्दानीमा पनि कम्पनीले निश्चित रकम जगेडा कोषमा राख्छन् । त्यसैले प्रति सेयर आम्दानी जति धेरै भयो त्यति नै राम्रो मानिन्छ ।

निश्क्रिय कर्जा
कम्पनीले लगानी गरेको तर, भुक्तानी भएको रकमलाई निश्क्रिय कर्जा भनिन्छ । यसले कम्पनीको लगानी उठीरहेको छ वा छैन भनेर देखाउँछ । यदि बैक तथा वित्तिय संस्थामा लगानी गर्ने हो भने ५ प्रतिशत भन्दा बढी निश्क्रिय कर्जा भएको कम्पनी छनौट गर्नु हुँदैन । कर्जा भुक्तानी नभएका कम्पनी कुनै पनि समयमा धरापमा पर्न सक्छन् ।

लगानीकर्ताको प्रकृति
बजारमा विभिन्न खालका लगानीकर्ता हुन्छन् । कतिपय लगानीकर्ता बजारको उतार चढाव मन पराउँछन् भने कतिपय लगानीकर्ता डराउँछन् । उतार चढाव मन पराउँने लगानीकर्ताले सानो पूँजी भएको कम्पनीमा लगानी गर्नु उपयुक्त हुन्छ । तर, उतार चढाव मन नपराउँने लगानीकर्ता ठूलो लगानी भएको कम्पनी छनौट गर्नु उपयुक्त हुन्छ ।

स्टक कर्नरबाट जोगिनु पर्छ
साना लगानीकर्ताहरु साना पूँजी भएका कम्पनीमा फस्न सक्ने सम्भावना अधिक हुन्छ । सानो पूँजी भएका कम्पनीको प्रतिफल राम्रो हुने भएकाले साना लगानीकर्ता यस्तो कम्पनीमा आकर्षित हुन्छन् । तर, यस्तो कम्पनीमा ठूलो लगानीकर्ताले स्टक कर्नर गर्न सक्छन् । जस्तै, थोरै सेयर भएको कम्पनीको सेयर निश्चित लगानीकर्ता आफैले खरिद गरि बजारमा कृत्रिम अभाव सृजना गरिदिन्छन् । र पुन : मूल्य बढाएर बजारमा सेयर आपूर्ति गर्न थाल्छन् । साना लगानीकर्ताले भने बजारमा सेयरको आपूर्ति कम भएको ठानी महंगो मूल्यमा खरिद गर्न पुग्छन् । त्यसैले यस्तो अवस्थाबाट जोगिनु पर्छ ।

कम्पनीको व्यवस्थापन र सञ्चालक
कुनै पनि संस्था वा कम्पनीको सफलताको मुख्य आधार भनेको व्यवस्थापन र सञ्चालक हो । यदि कम्पनीमा कुशल व्यवस्थापन र सञ्चालक छ भने ढिलो चाँडो कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सक्छ । तर, खराब व्यवस्थापन र सञ्चालक भएको खण्डमा कम्पनी कुनै पनि समय डुब्न सक्छ । त्यसैले कम्पनीको व्यवस्थापन र सञ्चालकमा कस्ता खालको व्यक्तिहरु छन त्यसको पनि हेक्का राख्नु पर्छ ।

डम्प एण्ड पम्प
कहिले काही ठूलो लगानीकर्ताहरुले कम्पनीको ठूलो हिस्सा खरिद गरी होल्ड गरी बस्छन् । बजारमा अनावश्यक हल्ला फिजाएर कम्पनीको मूल्य बढाएर बजारमा सेयरको आपूर्ति बढाउँछन् । यस्तो खालको जोखिमबाट पनि लगानीकर्ता बच्नु पर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x