राष्ट्रिय वाणिज्य बैंकद्वारा शिवम्लाई एक करोड अनुदान
काठमाडौं, २९ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले शिवम् सिमेण्ट लिमिटेडलाई एक करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी ईफिसेन्सी प्रोग्राम नेपाल’ अन्तर्गत उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले शिवम् सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई चेक मार्फत हस्तान्तरण गरेका हुन् । यस्तो अनुदान उर्जाको खपत कम गर्ने कम्पनीलाई दिइने छ ।
नेपाल सरकार र जर्मन सरकार बीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता भएको थियो । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत् उपलव्ध गराइने छ ।