कुलमान घिसिङ ‘नास्ट प्रविधि पुरस्कार’बाट सम्मानित
काठमाडौं, २१ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ। विद्युत आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याएकोमा उनलाई नास्ट प्रविधि पुरस्कार प्रदान गरिएको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणी पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार ललितपुरमा योजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी एक लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ।
नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ। नास्टले ३७ औं वार्षिकोत्सवका अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो।