बीमाङ्की अध्ययनमा बढ्न थाल्यो आकर्षण, मासिक १० लाखसम्म आम्दानी
बलराम बुढाथोकी
काठमाडौं, २१ मंसिर । त्रिभुवन विश्वविद्यालयले सुरु गरेको बीमाङ्की अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचुर सम्भावना र अधिक पारिश्रमिक पाईने भएपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको हो । त्रिभुवन विश्वविद्यालय अन्र्तगत बिज्ञान तथा प्रविधि अध्ययन संस्थानले गणित साईन्स (बीमाङ्की) अध्यापन गराउँदै आएको छ । संस्थानले चार वर्ष अगाडि गणित साईन्स स्कुलको स्थापना गरी बीमाङ्की अध्यापन सुरु गरेको हो । स्थापनाको चौथो बर्षमा अध्ययनका लागि २ सय जनाले आवेदन दिएका थिए । जसमध्ये ३६ जना मात्रै छनौट भएको स्कुलका प्रा.डा. प्रकाशमुनि बज्राचार्यले बताए ।
उनका अनुसार पहिलो बर्ष ४५ जनाले अध्ययनका लागि आवेदन दिएका थिए । जसमध्ये स्कुलले ३० जनालाई मात्रै भर्ना लिएको थियो । दोस्रो बर्ष ४८ जनाले आवेदन दिएकोमा ३१ जना छनोट भएका थिए । तेस्रो बर्ष ७० जनाले आवेदन दिएका थिए । तर, ३६ जना मात्रै छनोट भएका थिए ।
नेपालमा रोजगारीको लागि वित्तीय क्षेत्रलाई आकर्षित मानिन्छ । आकर्षक तलब, सेवा, सुविधा र व्यक्तिगत बृत्ति विकास हुने भएकाले युवाको आकर्षन यस तर्फ बढ्दै गएको छ । नेपालको वित्तीय क्षेत्रमा बीमाङ्कीको माग बढ्दै गए पनि नेपालमा नै बीमाङ्की उत्पादन हुन सकेका छैनन् । यस बिषयमा अध्यापन नहुने भएकाले पनि नेपालमा नै बीमाङ्की उत्पादन हुन नसकेका हुन् । यसै बिषयलाई मनन गरी गणित साईन्स स्कुलले बीमाङ्की अध्यापन सुरु गरेको हो ।
बीमाङ्की भनेको के हो ?
नेपालको बीमा ऐन २०४९ को दफा २ अनुसार ‘बीमाङ्की’ भन्नाले बीमा व्यवसायमा भएको दायित्वको निर्धारण तथा गणना गर्न बिमकद्वारा नियुक्त गरिएको तोकिए बमोजिमको योग्यता भएको व्यक्ति हो भनी परिभाषा गरिएको छ ।
विगत र वर्तमानका तथ्याङ्कलाई सूक्ष्म रूपमा विश्लेषण गरी भविष्यका लागि प्रक्षेपण गर्न सक्ने ज्ञान भएको जनशक्तिलाई ‘बीमाङ्की’ (एक्चुअरी) भनिन्छ । ‘बीमाङ्की’ कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभईकन चार्टर्ड एकाउण्टेण्ट जस्तै पेशागत उपाधि हो । यो उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रको कार्य गर्न सक्ने दक्षता उपलब्ध गराउने विज्ञान नै बीमाङ्कीय विज्ञान हो । ‘बीमाङ्की’ लाई धेरैले बीमा क्षेत्रसँग जोडेर हेर्ने गरेको पाइए तापनि यो जनशक्तिको आवश्यकता अर्थतन्त्रको विकासका लागि सरकारी तथा निजीक्षेत्रमा उत्तिकै महत्व रहेको छ ।
बीमाङ्कीय मूल्यांकनको महत्व
कुनै पनि कम्पनीको विगत र बर्तमान अवस्थाको मूल्यांकन गरी भविष्यको आकंलन गर्न सक्नु नै बीमाङ्कीय मूल्यांकन हो । सर्वसाधारणको लगानी रहेको कम्पनी अति संवेदनशिल हुने भएकाले यस्ता कम्पनीहरुको विगत, वर्तमान र मूल्यांकन गरी भविष्यको लागि आज नै योजना बनाउनु पर्ने भएकाले बीमाङ्कीय मूल्यांकन आवश्यकता पर्छ ।
बीमा व्यवसायको हकमा (जीवन, निर्जीवन र पुनर्बीमा)मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्ने संख्याहरूको पूर्वानुमान लगाउन, कम्पनीको सम्पत्ति वा दायित्वको अवस्थाको मूल्याङ्कन गर्न, बोनस दर निर्धारण गर्न, कम्पनीलाई आर्थिक रूपमा सबल राख्न आवश्यक जगेडा कोषको निर्धारण गर्न बीमाङ्कीय मूल्यांकनको महत्व रहेको छ ।
बीमा ऐन २०४९ को दफा २६ अनुसार जीवन सबमा व्यवसाय गर्ने बिमकले प्रत्येक ३÷३ वर्षमा एकपटक आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन बीमाङ्कीद्वारा गराउनुपर्ने कानूनी व्यवस्था छ । अन्तर्राष्ट्रियस्तरमा यो मूल्याङ्कन प्रत्येक बर्ष गरिन्छ । नेपालमा भने हाल जीवन बीमा कम्पनीहरुले प्रत्येक बर्ष यस्तो मूल्यांकन गर्दै आएका छन् । समितिले प्रस्ताव गरेको नयाँ बीमा विधेयकमा भने सबै कम्पनीले प्रत्येक वर्ष अनिवार्य रूपमा ‘बीमाङ्की’ मूल्याङ्कन गराउनु पर्ने व्यवस्था गरिएको छ ।
उसो त ‘बीमाङ्की’ मूल्यांकन समिति बाहेक राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, सञ्चय कोष, नागरिक लगानी कोषजस्ता संस्थामा अत्यावश्यक रहेको समितिका निर्देशक कमल रेग्मीले बताए । विशेषतः सर्वसाधारणको लगानी रहेको संस्थामा उनीहरूको लगानीलाई सुरक्षित गर्दै भविष्यको प्रतिफललाई समेत सुनिश्चितता प्रदान गर्न, संस्थामा भएका आन्तरिक तथ्याङ्कहरू र बाह्य पक्षसँग सम्बन्धित विवरणका आधारमा संस्थाको आर्थिक जोखीम कस्तो छ, सोको विश्लेषण गर्न यो अति नै जरुरी रहेको उनले बताए ।
बीमांकी अध्ययन
‘बीमाङ्की’ विज्ञान चार्टड एकाउण्टेण्ट जस्तै पेशागत उपाधि हो । यसको अध्यापनसमेत विश्वविद्यालयमा हुँदैन । तर, हिजो आज ‘बीमाङ्की’ विज्ञानको पेशागत इजाजत लिनेका लागि उपयोगी हुने किसिमबाट विभिन्न विषय समावेश गरी पाठ्यक्रमको विकास गर्दै केही विश्वविद्यालयले यस विषयको अध्यापन गराइरहेका छन् । विश्वविद्यालयको यस्तो डिग्री मात्र उत्तीर्ण गरेका व्यक्तिले यस क्षेत्रको आवश्यकताअनुसार माथि उल्लेख भएका सघं, संस्थामा प्राविधिक, योग्य जनशक्तिका रूपमा कार्य गर्न त सक्छन् । तर, ‘बीमाङ्की’ मूल्याङ्कन प्रतिवेदन वा यस्तै प्रकृतिका प्रतिवेदनहरू प्रमाणित गर्न भने पाउँदैनन् । जसरी वाणिज्य, व्यापार शास्त्रमा स्नातक वा स्नातकोत्तर (बीबीएस, बीबीए, एमबीए) मात्र उत्तीर्ण गरेको आधारमा लेखापरीक्षण गर्ने इजाजत हुँदैन, त्यसरी नै विश्वविद्यालयको ‘बीमाङ्की’ विज्ञान परीक्षा मात्र उत्तीर्ण गरेको आधारमा ‘बीमाङ्की मूल्याङ्कन’ प्रतिवेदनजस्ता विवरण प्रमाणित गर्ने अनुमति पाइँदैन ।
नेपालमा त्रिभुवन विश्वविद्यालयले ‘बीमाङ्की’ विज्ञानको पेशागत परीक्षाका लागि उपयोगी हुने किसिमको स्नातक तहको म्याथम्याटिकल साइन्सेज कार्यक्रम गत वर्षबाट शुरू गरेको छ । उक्त कार्यक्रम आठ सेमेष्टरसहित चारवर्षे रहेको छ । हाल उक्त कार्यक्रममा पहिलो ब्याजका ३० र यस वर्ष भर्ना भएको ३० जना गरी कुल ६० जनाले अध्यययन गरिरहेका छन् ।
यसका अतिरिक्त बेलायत, अमेरिका, भारत विकल्पका रूपमा छन् । मुम्बईमा ‘बीमाङ्की’ विज्ञानको इजाजत दिने आधिकारिक निकाय एक्चुअरी सोसाइटी अफ इण्डिया रहेको छ । अर्को विकल्पका रूपमा बेलायतको एक्चुअरी सोसाइटी रहेको छ । ‘बीमाङ्की’ विज्ञानको पेशागत उपाधि लिन सर्वप्रथम प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । भारत र बेलायतका सोसाइटीको प्रवेश परीक्षाको पाठ्यक्रम छुट्टाछुट्टै छ । त्यसपछि भने दुवै सोसाइटीको पाठ्यक्रम लगभग उस्तै छ । प्रवेश परीक्षा उत्तीर्णपछि १५ विषय उत्तीर्ण भएपछि एक्चुअरी फेलोसिपको उपाधि पाउन सकिन्छ । सामान्यतया प्रत्येक वर्षको अप्रिल र सेप्टेम्बर महिनामा प्रवेश परीक्षा एवम् अन्तिम परीक्षाहरू सञ्चालन हुने गर्छन् । एकपटकमा बढीमा ३ ओटा विषयको परीक्षामा सामेल हुन पाउने सोसाइटीको व्यवस्था रहेकाले छिटोमा लगभग ३ वर्षमा एक्चुअरी फेलोसिपको उपाधि पाउन सकिन्छ । तर, सामान्यतया करीब ५ देखि ७ वर्षसम्म समय लागेको पाइन्छ । विविध कारणले १५ ओटा पूरै विषय उत्तीर्ण हुन कठिनाइ भए पनि ‘सिटी नाइन’ सम्म नौओटा परीक्षा उत्तीर्ण गरेपछि राम्रो रोजगारी पाउन सकिन्छ ।
नेपालमा छैनन् बीमाङ्की
नेपालमा बीमा कम्पनीहरु थपिदै गए पनि बीमाङ्कीको संख्या शून्य छ । त्यसैले हाल कम्पनीहरुले लाखौ रुपैयाँ भुक्तानी गरेर विदेशी विमाङ्कीद्वारा मूल्यांकन गराउँदै आएका छन् ।