चार महिनामा १ सय ४७.६ मेगावाट बिजुली थपियो
काठमाडौ २७, मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा १ सय ४७.५ मेगावाट बिजुली थपिएको छ। नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार सो अवधिमा निजी क्षेत्रका ६ आयोजनाबाट ७३.५ मेगावाट र प्राधिकरण मातहतका आयोजनाबाट ७४ मेगावाट बिजुली थपिएको छ ।
जबकी गत आर्थिक वर्षमा १ सय ९५ मेगावाट मात्र बिजुली थपिएको थियो । विभिन्न कारणले रुग्ण ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालु आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत उत्पादन सुरु भएको छ। यसैगरी, यस अवधिमा निजी क्षेत्रका ६ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत प्रणालीमा थपिएको छ। चालु आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरण मातहत निर्माण भइरहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायत निजी क्षेत्रबाट करिब १ हजार १ सय मेगावाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा १ सय ९५ मेगावाट मात्र बिजुली थपिएको थियो।
प्राधिकरण र निजी क्षेत्रबाट करिव १ हजार १ सय मेगावाट बिजुली यस वर्षमात्रै उत्पादन हुने अनुमान गरिएको छ । १९६८ सालमा बेलायतको सहयोगमा नेपालमा पहिलोपटक पाँच सय किलोवाटको फर्पिङ जलविद्युत आयोजना निर्माण भएको थियो। त्यसपछि अन्य साना तथा मझौला जलविद्युत आयोजनाको निर्माण भए।