कम्पनीले घरदैलोमा पुगेर बीमा गर्न पाउँने
काठमाडौं, २९ मंसिर । बीमा समितिले नेपालमा बीमाको पहुँच बढाउँन भन्दै घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६ जारी गरेको छ । यो मार्गदर्शनसँगै कम्पनीहरुले बीमितको घर घरमा पुगेको बीमा सेवा दिन पाउँने भएका छन् ।
घुम्ती बीमा सेवा मार्फत बीमा कम्पनीहरुले लघुबीमालाई प्राथमिकता दिनुपर्नेछ । समितिले जारी गरेको मार्गदर्शन अनुसार जीवन बीमा कम्पनीहरुले जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँसम्मको घर बीमालाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । तर, बीमा कम्पनीहरुले ५ लाख रुपैयाँ भन्दा बढीको बीमा गर्न पाउँने छैनन । एकल बीमा र बैदेशिक रोजगार म्यादी जीवन बीमा पनि विक्री गर्न पाउँने छैनन् । निर्जीवन बीमा कम्पनीहरुले भने सामुन्द्रिक, हवाई, इन्जिनियरिङ्ग र मोटर बीमा जारी गर्न पाउँने छैनन् ।
कम्पनीहरुले महानगरपालिका वा उपहानगरपालिका भित्र घुम्ती बीमा सेवा उपलब्ध गराउँन नपाउँने मार्गदर्शनमा व्यवस्था गरिएको छ । यद्यपी जीवन बीमा व्यवसाय गर्ने बीमकले महानगरपालिका वा उप महानगपालिका भित्र रहेका सिमावर्ती वार्डहरुमा भने घुम्ती बीमा सेवा उपलब्ध गर्न बाधा पुगेको मानिने छैन ।
यस्तो सेवा कम्पनीहरुले पुल निर्माण गरेर पनि सञ्चालन गर्न सक्नेछन् । यसका लागि कम्पनीहरुले आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेछ । जस्तै, कर्मचारी, सवारी सधान, सफट्वेयरको विकास गर्नुपर्नेछ । कर्मचारी र सवारी साधनको सुरक्षाको लागि बीमा गर्नुपर्नेछ ।