सीमामा सशस्त्र प्रहरीका ११४ पोस्ट थपिने

काठमाडौं, ४ पुस । सरकारले सीमामा सुरक्षा बढाउने भएको छ । जस अनुसार सशस्त्र प्रहरीका एक सय १४ बोर्डर आउटपोस्ट (बीओपी) थप्नका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सीमा सुरक्षाप्रति सरकार संवेदनशील भएको बताए ।
पछिल्लो समय भारतसँगको सीमा विवादपछि सरकारले बोर्डर आउटपोस्ट थप्न लागेको हो । त्यस्तै यसले सीमाका विभिन्न स्थानबाट हुने तस्करी नियन्त्रण, लागू औषध नियन्त्रण र मानव बेचविखनमा समेत नियन्त्रण हुने अपेक्षा सरकारको छ । खासगरी पछिल्लो समय तिब्बतिहरुको नेपाल प्रवेश र नेपालबाट खुला सीमाको उपयोग गर्दै भारत लगायतका मुलुकमा जान पनि सरकारले कडाइँ गर्दै आएको छ । बीओपी बढाउने निर्णय गरे पनि सरकारले भारतसँगको सीमा विवाद निरुपणका लागि वार्ता प्रक्रिया अघि बढाउन सकेको छैन । भारतीय प्रधानमन्त्रीले चासो नदिएपछि नेपालबाट सीमा समस्या निराकरण गर्न वार्ताका लागि विशेष दूत पठाउने चर्चा पनि सेलाएको छ । परराष्ट्र सचिवस्तरीय वार्ताबाट छलफल अघि बढाउने भनिएपनि सो छलफल अघि बढ्न सकेको छैन । भारतले सुदुरपश्चिम नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र रहेको भक्तपुर जत्रा तीनओटा जिल्ला बराबरको जमिन अतिक्रमण गरेको छ ।

नेपालको वास्तविक नक्सा र भारतले मिचेको भूभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *